काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाका एक पदाधिकारीले जनाएअनुसार डा. भरत देवकोटा नेतृत्वको आयोगले यस्तो सिफारिस गरेको हो ।
आयोगले गरेको सिफारिसका विषयमा निर्णय गर्न अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि बसिरहेको बैठकमा उक्त विषयमाथि छलफल चलिरहेको ति पदाधिकारीले जनाए ।
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन गरेको थियो ।
केन्द्रीय समितिको सो निर्देशनअनुसार नै आयोगले छानबिन गरी केही दिनअघि पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगले गरेको सिफारिसमाथि छलफल गरी केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।
यदि आयोगले गरेको सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गरेमा ढकालको दुई वर्षे रास्वपाभित्रको राजनीति सकिनेछ ।