काठमाडौं । अविरल वर्षाले देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाए । सोही अवधिमा १० करोडभन्दा बढीको क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरा परेर ९० जना घाइते भएका छन् भने पाँच जना बेपत्ता भएका छन् ।
बाढी पहिराका कारण ५९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ । बाढी पहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ ।
यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।