काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ ।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
रास्वपाका सहप्रवक्ता मनिष झाका अनुसार पार्टीको केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय गरिएको हो ।
उनका अनुसार केन्द्रीय समिति बैठकले ढकालबाट पार्टी अनुशासन र हितविपरित काम गरेको ठहर गरेको छ ।
“केन्द्रीय समितिको छलफलका आधारमा ढकालबाट पार्टीको आचारसंहिताको दफा ४ को (१) को क, ख, च, प र फ एवम् दफा चार २ को (४), दफा (५०)को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख ग र घ समेतको उल्लङ्घन भएको ठहर तथा सोबाट पार्टीलाई पुगेको क्षति समेतलाई विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६को (३) बमोजिमको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो”, बैठकको निर्णयबारे झाले भनेका छन् ।
रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन गरेको थियो ।
केन्द्रीय समितिको सो निर्देशनअनुसार नै आयोगले छानबिन गरी केही दिनअघि पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा ढकालमाथि कारबाही गरिएको झाले बताए ।