माइती हिँडेकी महिला छोरासहित बेचिएपछि उद्धारको पहल हुँदै-Sutra News

माइती हिँडेकी महिला छोरासहित बेचिएपछि उद्धारको पहल हुँदै

मंगलबार, २५ असार २०८१

मंगलबार, २५ असार २०८१

काठमाडौं । बाँकेको वैद्यनाथ गाउँपालिका ७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट निस्केकी थिइन् ।



श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्क थिए । तर, जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे । यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन् । यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।

“गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन्, माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुन सकेन, त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ,’ उनले भने, ‘श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन् ।”

ठकुरीले दिएको जानकारीअनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।

“श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ, त्यही सूचनाका आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो”, ठकुरीले थपे, “सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उहाँले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नु भएको थियो ।”

सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए ।

“उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ”, उनले गुनासो गरे ।

सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे । उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट