काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नु परेको समस्याबारे पीडितहरूसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिसँग बुधबारको बैठकमा छलफल गरिने उनको भनाइ थियो ।
सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरूको सुझाव महत्वपूर्ण हुने थापाले बताए । यस क्रममा सहकारी विभागका पूर्व रजिष्ट्रारदेखि हालका रजिष्ट्रारसंग बैठकले सामूहिक छलफल गरेको थियो ।
छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताए । यस्तै ऐन नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा वेवास्ता गर्दा बचतकर्ताको रकम अपचलन भएको उनीहरुको भनाइ थियो ।