काठमाडौं । घटनाक्रममा नाटकीय परिवर्तन नभए असार २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित छ । त्यससँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।
असार १७ मा नेपाली कांग्रेस र नेकपा (एमाले)का बीच भएको समझदारीअनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नेताहरुले बताएअनुसार दुई दलबीच आधा/आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको छ ।
घटनाक्रमलाई हेर्दा, ओलीको नेतृत्वमा सरकार बन्ने निश्चित जस्तो भइरहँदा को–को मन्त्री बन्लान् र कुन मन्त्रालयको नेतृत्व कसले पाउलान् भन्ने चासो आमरुपमा बढेको छ । जसमा पनि अर्थमन्त्री को होलान् भन्ने चासो केही बढी देखिन्छ ।
गहिरिँदो आर्थिक संकट र सकसपूर्ण बनेको व्यवसायिक वातावरण कसरी सामान्यकृत बनाउने भन्ने चिन्ता आमरुपमा छ । जसको समाधान गर्ने मुख्य जिम्मेवारी पनि नयाँ सरकारको काँधमा हुनेछ ।
नेताहरुले बताएअनुसार कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अर्थसहितका नौ मन्त्रालय एमालेले पाउनेछ ।
ओलीले राेजाइ काे ?
एमालेभित्र विशेषगरी अर्थको जानकारको रुपमा महासचिव शंकर पोखरेलसहित उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई लिइन्छ । पोखरेल र पाण्डे अहिले सांसद होइनन् । यस्तोमा पौडेलले अवसर पाउन सहज छ ।
तर, पछिल्लो समीकरण परिवर्तनमा पौडेल सकारात्मक नभएको चर्चाका बीच ओलीले अन्य पात्रलाई पनि अघि सार्न सक्ने सम्भावना बढाएको छ । यस्तोमा एमालेका तर्फबाट नयाँ अनुहारले पनि उक्त मौका पाउन सक्ने सम्भावना देखिन्छ ।
जहिले पनि प्रधानमन्त्रीले आफू अनुकुलको पात्रलाई अर्थमा खोज्ने गरेको पाइन्छ । यस्तोमा ओलीले पनि त्यस्तै पात्रलाई अगाडि नसार्लान् भन्न सकिन्न ।
यदि पौडेललाई अगाडि सार्ने अवस्था भएन भने ओलीले नयाँ अनुहारलाई प्रवेश गराउन सक्छन् । जसमा पदम गिरी, महेश बर्तौलालगायतको सम्भावना रहने एमालेका नेताहरु बताउँछन् ।