काठमाडौं । विराटनगरमा गएराति भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोनु गिरी, दावा शेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् । विराटनगर महानगर २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको प्रहरीको भनाइ छ । उनको राति १० बजे उपचारका लागि विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।
घटनामा परी कटहरी १ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर छ । दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दुई पक्षीबीच भनाभन भई पछि हत्या गर्ने योजनासहित चार जनाको समूह आएको देखिएको छ ।