भाखा नाघेका ऋणिलाई एनआईसी एशिया बैंकले ब्याजमा छुट दिने, कुनमा कति छुट ?-Sutra News

भाखा नाघेका ऋणिलाई एनआईसी एशिया बैंकले ब्याजमा छुट दिने, कुनमा कति छुट ?

बुधबार, २६ असार २०८१

बुधबार, २६ असार २०८१

काठमाडौं । एनआईसी एशिया बैंकले ऋण लिएका ग्राहकलाई छुट दिने भएको छ । मंगलबार बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले प्रेस विज्ञप्तिमार्फत ऋण लिएका ग्राहकलाई छुट दिने जानकारी दिएका हुन् ।



बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट प्रदान गर्ने योजना ल्याएको बताएको छ ।

बैंकका अनुसार २०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आसार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट दिइने छ । साथै, साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको समयका लागि १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्मका लागि २५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधिका लागि ३५ प्रतिशतसम्म ब्याज छुट दिने बैंकले जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट