काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)भित्र असार २८ सँगै प्रतिपक्षको बेच्नमा पुग्ने बुझाई करिब स्पष्ट देखिन्छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सो दिशातर्फ राम्रै संकेत गरे ।
विश्वासको मतको नतिजा पर्खिरहेको बताएका पाण्डेले ‘समाजवादी मोर्चा निर्माण अभियान अगाडि बढ्नलाई स्पष्टता भएको’ बताए । उनको भनाइलाई केलाउँदा माओवादी सत्ताबाट बाहिरिएसँगै समाजवादी मोर्चालाई अगाडि बढाउने दिशामा अगाडि बढ्छ । जुन विगतमा सत्तामा रहँदा समस्यामा थियो ।
“सबैसँग विश्वासको मत माग्ने निर्णय गरेका छौँ, विश्वासको मतको रिजल्ट के आउँछ, त्यसपछि निर्णय गर्छौं”, पाण्डेले भनेका छन्, “वामपन्थी एकतालाई अगाडि बढाउने बारेमा, समाजवादी मोर्चालाई अगाडि बढाउने बारेमा जुन कुराकानी भएको थियो, कहिँ न कहिँ यो के हुने हो, के हुने हो भन्ने थियो, यसले धेरै स्पष्ट बनाएको छ ।”
माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमतिलाई प्रतिगमनको खतराको रुपमा पनि लिएको छ । जुन विषयमाथि भण्डाफोर अभियान चलाउने संकेत पनि माओवादी केन्द्रले गरेको छ ।
“अहिले त यहाँ संविधान नै संशोधन गर्ने कुरा आएको छ, हामी यो संविधानलाई अझ गतिशिल बनाउन, अझ राम्रो बनाउन चाहन्छौं”, पाण्डेले भनेका छन्, “तर, अहिले त संविधानमाथि नै आक्रमण गर्न खोजिएको हो कि भन्ने आशंका उब्जिएको छ, हामी जनताको पक्षमा निरन्तर उभिइरहन्छौं, संविधान अक्षरस पालना गराउन लागिरहन्छौं ।”
संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले असार १७ को मध्यराति नयाँ गठबन्धन बनाउने निर्णय गरेका थिए । दुई दलले संविधान संशोधनलगायतका विषयमा पनि सहमति गरेको बताएका छन् । यद्यपि, सहमतिको पत्र भने सार्वजनिक भएको छैन । जसमा माओवादी केन्द्रले गम्भीर आशंका जनाइरहेको छ ।
यद्यपि, सहमतिका विषय स्पष्ट बाहिर नआउँदा माओवादी केन्द्र पनि अलमलमा देखिन्छ । तर, सत्ताबाट पाखा पन्छिने सन्दर्भमा देखिएको स्पष्टतासँगै माओवादी केन्द्रले वैकिल्पक गठबन्धन निर्माणको थालनी गर्ने संकेत गरेको छ । जसमा पहिलो उपाय समाजवादी मोर्चालाई ब्यूँताउने देखिन्छ ।
मोर्चामा माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), विघटित जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध थिए । यद्यपि, पार्टी विभाजनसँगै जसपाले आफू मोर्चामा नरहेको र मोर्चाको औचित्य सकिएको घोषणा गरिसकेको छ भने एकीकृत समाजवादीले पनि मोर्चाबारे पुनर्विचार आवश्यक रहेको बताएको छ ।
यस्तोमा मोर्चा कसरी अगाडि बढ्छ भन्ने प्रश्न देखिन्छ । यद्यपि, माओवादी केन्द्र सरकारमा जान नपाउने संसदका शक्ति र संसद बाहिरका शक्तिलाई समेट्ने योजनामा देखिएको छ । जसमा माओवादी धाराका अन्य शक्तिहरु पनि सामेल हुने सम्भावना देखिन्छ ।
हालै एक कार्यक्रमका बीच प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “परिवर्तनको रक्षाका लागि माओवादीहरु फेरि एक ठाउँमा उभिनुपर्ने अवस्था आएको” बताएका थिए । उनको संकेत माओवादी धाराका शक्तिहरुलाई फेरि एक बनाउने अभियानतर्फ लाग्ने भन्ने थियो ।