काठमाडौं । भर्सटायल कलाकार नाजिर हुसेनको प्रतिक्षित फिल्म ‘गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल’ उर्फ ‘गुलाबी’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेको हो। फिल्म आगामी कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ।
सार्वजनिक पोस्टरमा नाजिरको होसै उडाउने लुक्स देख्न सकिन्छ। नाजिरको लुक्स र पोस्टरले नै फिल्मको कथावस्तु बोल्छ। फिल्म क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस फिल्ममा पनि कडा मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिल्छ। नाजिरले ‘गुन्यो चोलो- उर्फ गुलाबी’ कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए।
पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग (नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ‘गुलाबी’ राखिएको छ।
यस फिल्मलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन। फिल्ममा उनले गरेको मेहेनत पनि कम छैन। नाजिरले यस फिल्मको चरित्र निर्माणका लागि जति संघर्ष गरेका छन, समुन्द्रले पनि चलचित्रलाई न्याय दिन उतिनै मेहेनत गरेकी छिन। निर्देशक भट्टले फिल्मको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’ संग पनि परामर्श गरेकी थिइन। धेरै खोज र अनुसन्धानपछि उनले यस फिल्ममा आफ्नो ज्यान भरेकी हुन। फिल्मलाई लिएर समुन्द्र निकै आशावादी छिन। ‘गुन्यो चोलो उर्फ गुलाबी’ ले आफ्नो निर्देशनको यात्रामा थप उचाई थप्नेमा भट्ट विश्वस्त छिन।
अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको फिल्मले पारलैंङ्गिकताकाे कथालाई उठान गरेको छ। फिल्ममा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा फिल्ममा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
फिल्मको थिममात्र नभएर प्रोडक्सन पनि ए-वान छ। चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनकाे काम बाहिर गरिएको हो। फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्म्को काम हलिउड शैलीमा बाहिरै गरिएको छ। यसैबाट पनि फिल्मको गुणस्तर मापन गर्न सकिन्छ।
फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै प्रतिक्षित हलिउड फिल्म ‘ग्ल्याडिएटर-२’ यहीँ डिसेम्बरमा आउँदैछ।
नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्म नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। फिल्ममा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन। भने अनुपम श्रेष्ठ फिल्मका सहयोगी निर्माता हुन।
आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। फिल्ममा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन।