‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो-Sutra News

‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुल्ला, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

काठमाडौं । असार २८ मा अर्थात् भोली शुत्रबारबाट प्रदर्शन हुने फिल्म ‘घरज्वाइँ’ को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ।



अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मलाई केही मल्टिप्लेक्स हलहरूले बुधबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका छन्।

फिल्मले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो पाएको छ। जसअन्तर्गत देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई उत्साहजनक शो दिएको छ। क्युएफएक्सका ४० स्क्रिनमा फिल्मले ५७ पाएको छ। जसमा काठमाडौंमा २० र बाहिर ३७ शो उपलब्ध छ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाले आफ्ना ३ आउटलेटमा १३ शो दिएको छ। यसैगरी वान सिनेमाजले आफ्ना २ आउटलेटमा ९, एफक्यूबले ६, बिएसआर मुभिजले ५, बिग मुभिजले ४ शो दिएका छन् ।

निर्माण टिमले शुक्रबारसम्ममा करिब ३०० हाराहारीमा शो पाउने विश्वास रहेको बताएको छ । फिल्मको मियर शोको प्रतिक्रिया हेर्दा, निर्माता र वितरकले शुक्रवारबाट दर्शकको साथ र वर्डअफ माउथले शो र व्यापार दुवैमा बढोत्तरी हुने आशा गरेका छन्।

निर्देशक अनिल बुढा मगरले मगर समुदायको विवाह संस्कृतिलाई प्रस्तुत गरेको यो फिल्मले प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको थियो। उनको यो डेव्यु फिल्म हो ।

फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका छ, जहाँ उनीहरूको प्रेमकथा मगर संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

जनक घर्ती मगर निर्माता रहेको यो फिल्ममा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।

नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट