सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध-Sutra News

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

काठमाडौं । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।



केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले सडक अवरुद्ध भएको ठाउँ ठाउँमा भत्किएका, भासिएकाले दर्जनौँ सडक अझै खुलेको छैन । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले नागरिकसँग आग्रह गरेको छ ।

अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेकाले सकेसम्म यस्तो अवस्थामा यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन भनेको कार्कीले बताए ।

प्रहरीले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।”

प्रहरीले यसरी सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट