काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । कांग्रेस–नेकपा एमालेसहित दलहरूको सत्ता गठबन्धन गरी संविधान संशोधन गर्ने भनिरहँदा उनले यस्तो बताएका हुन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए । “दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक पर्छ,” उनले भने ।
यसैबीच महामन्त्री थापाले कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको सात बुँदे समझदारी पालना गरिने बताए । पहिलो चरणमा एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले सात बुँदे समझदारीबारे पार्टीको कार्य सम्पादन समितिमा बृहत् छलफल भएको र यसलाई पार्टीले स्वीकार गरेको उल्लेख गर्दै लिखित समझदारीलाई कसैले पनि हलुका रुपमा लिन नहुने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताए । उनले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने उल्लेख गर्दै संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउँदै जानु पर्ने बताए ।