प्यारामाउन्टले लुकाउन खोजेको एउटा भयानक दुर्घटना…-Sutra News

प्यारामाउन्टले लुकाउन खोजेको एउटा भयानक दुर्घटना…

दुर्घटनाका घाइते अस्पताल पुग्दा नपुग्दा कम्पनीले हतार–हतार लुकायो गाडी

बिहिबार, २७ असार २०८१

बिहिबार, २७ असार २०८१

काठमाडौं । गत मंगलबार बिहान (असार १८ गते) निकै संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी क्षेत्रको पार्किङमा निकै भयानक सवारी दुर्घटना भयो । तर, अनौठो उक्त दुर्घटनाको विषय बाहिर आएन । उक्त घटनालाई यति गोप्य बनाइयो कि जसको विषय बाहिर नआओस् भनेर अनेकन् प्रपञ्च रचियो ।



घटना थियो, पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधानको परिवार चढेको एमजी ब्रान्डको विद्युतीय सवारी साधन दुर्घटनाको ।

अमेरिका उड्न लागेकी छोरीलाई बिदाइ गरेर फर्किन लाग्दा नेता प्रधानकी श्रीमती विद्या वनमाली प्रधानले चलाएको सवारी विमानस्थलको अराइभल तर्फको पार्किङमा दुर्घटनामा परेको थियो । चिनियाँ ब्रान्ड एमजीको जेडएस भेरियन्टको बागमती प्रदेश ०१–०२७–च–१५९० नम्बरको उक्त गाडी पार्किङबाट निकाल्ने क्रममा एक्कासि अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा प्रधानपत्नी विद्या वनमाली निकै गम्भीर घाइते भएकी छिन् ।

गम्भीर घाइते विद्या वनमालीको राजधानीकै नर्भिक अस्पतालमा उपचार जारी छ । पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता प्रधानका अनुसार घाइते विद्या वनमालीको नर्भिकको आइसियु कक्षमा उपचार भइरहेको छ ।

उक्त दुर्घटना अरु कारण नभई गाडीमा अचानक देखिएको प्राविधिक समस्याले भएको थियो । गाडीको समस्या बाहिर आउने अवस्था भएपछि घटनालाई निकै गोप्य राखिएको थियो ।

कसरी भएको थियो दुर्घटना ?

पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता प्रधानअनुसार अटोमेटिक सिस्टम जडित उक्त गाडी पार्किङबाट निकाल्न लाग्दा अचानक नियन्त्रणबिहीन हुँदै दुर्घटनामा परेको थियो । स्टार्ट गर्दा अचानक गाडीको स्पीड १०० प्रति/किमी पुगेर उछिट्टिएको थियो ।

“स्टार्ट गर्ने बित्तिकै गाडी अचानक १०० भन्दा माथिको स्पिडमा पुगेछ, म्यानुएल कन्ट्रोलले आफैँ काम गर्न बन्द गरेछ”, प्रधानले दुर्घटनाबारे भनेका छन्, “पार्किङ १०० भन्दा माथि पुगेपछि कसरी जोगिने ? मारुती गाडीमा ठोकिँदै इट्टाको थुप्रोसम्म पुगेर गाडी बजारिएछ ।”

प्रधानका अनुसार यसअघि उक्त गाडीमा सामान्य खालका समस्या देखिएपनि यस्तो प्रकृतिको समस्या पहिलो पटक आएको थियो । यद्यपि, यही समस्याले अहिले उनको पत्नी जीवन/मरणको संघर्षमा छिन् ।

घटना लुकाउन तम्सिएको कम्पनी जिम्मेवारीबाट भाग्दै

प्राविधिक समस्या निम्तिएपछि भएको उक्त दुर्घटनाबारे भने कम्पनीले भने कुनै सरोकार देखाएको छैन । एमजी गाडीको बिक्रेता प्यारामाउन्ट्स मोर्टर्सले आजसम्म घटनाबारे कुनै पनि जवाफ दिएको छैन । कम्पनीका मालिक पशुपति मुरारका समेत घटनाबाट पन्छिन खोजेको प्रधानले जनाएका छन् ।

“दुर्घटना भएको भोलिपल्ट घटनाबारे कम्पनीका मालिक पशुपति मुरारकासँग कन्ट्याक गरेँ, उनले म आएर हेर्छु, बुझ्छु र बाँकी के गर्ने गरौँला भनेका थिए”, प्रधानले भनेका छन्, “तर, उनी पन्छिन खोजे, अहिलेसम्म फेरि कन्ट्याकमा आएका छैनन् ।”

दुर्घटना हुने वित्तिकै प्रधान गम्भीर घाइते पत्नीको उपचारमा लागे । तर, त्यहीबिच कम्पनीले प्रधान परिवारलाई समेत थाहै नदिई दुर्घटनामा परेको गाडीलाई आफ्नो कुसुन्तीस्थित ग्यारेजमा पुर्‍याएको छ ।

प्रधान परिवारले उक्त गाडी चार वर्ष अगाडि खरिद गरेको थियो । गाडी प्रधानपत्नी विद्या वनमालीले नै प्रयोग गर्दै आएको प्रधानले जनाएका छन् ।

एमजी ब्राण्डका गाडीमा थुप्रै समस्या

प्रधान परिवारले चलाएको यो मोडलमा मात्रै नभइ एमजी ब्रान्ड थुप्रै मोडलमा निकै प्राविधिक समस्या भएको पाइएको छ । विशेष गरी चार्जिङ्गको समय र सवारी गुडिरहेको समयमा ब्याट्री बिस्फोट हुने र आगलागी हुने घटना भइरहेको पाइन्छ ।

गत पुस ८ गते काठमाडौंको बुढानीलकण्ठमा चार्जमा राखेको एमजीको जेडएस ईभी मोडलको गाडी जलेर पूर्ण नष्ट भएको थियो । जसबारे कम्पनीले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन । कम्पनीले विद्यूत सर्ट भएको भन्दै पन्छिरहेको छ ।

यस्ता घटना नेपालसहित भारतलगायतका देशमा पनि बेला–बेला चर्चामा आउने गरेका छन् । यद्यपि, कम्पनीले अनेकन् सन्दर्भ मिलाएर घटना लुकाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट