काठमाडौं । यो वर्षको दसैँमा पनि फिल्मको रोमाञ्चक भिडन्त हुने भएको छ । नाम चलेकै निर्माताका फिल्म आपसमा भिड्ने भएका छन् । दसैँको घटस्थापनाको दिन दुईवटा फिल्म रिलिज हुने भएका छन् । लगत्तै यसको अर्को हप्ता असोज २४ गते फूलपातीमा पनि दुईवटा फिल्मको भिडन्त हुने निश्चित जस्तै छ ।
एकै मितिमा फिल्म रिलिज हुनु भने नौलो होइन । बिदाको अवसर पारेर फिल्म एकै दिन रिलिज हुँदै आएका छन् । अहिले एउटै मितिमा दुईवटा फिल्मसम्म आउँदा बजारले धान्न सक्ने अवस्था छ ।
ठूला ब्यानरका फिल्म पनि एकै दिन रिलिज हुँदै आएका छन् । केही समय अगाडि मात्रै पनि अनमोल केसी र प्रदीप खड्काका फिल्म एकै दिन रिलिज भएका थिए। एकै दिन रिलिज हुँदै आए पहिलो दुई दिन फिल्मको हाइप र स्टारडमले ताने पनि त्यसपछि भने कन्टेनले नै फिल्म चल्ने अथवा नचल्ने निर्धारण हुन्छ ।
घटस्थापनाका दिन ‘सानो संसार’ र ‘बेहुली फ्रम मेघौली’ एकै दिन रिलिन हुन लागेका छन् । दसैँको पूर्वसन्ध्या पारेर यी दुई फिल्म असोज १७ गते रिलिज हुन लागेका हुन् । ‘सानो संसार’ निर्माता अर्जुनकुमारले निर्माण गर्न लागेको फिल्म हो । उनी लामो समयदेखि फिल्म निर्माण गर्दै आएका निर्माता हुन् ।
‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतले लगानी गरेको फिल्म हो । उनीहरूले पहिलोपटक फिल्ममा लगानी गरेका हुन् ।
‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा र निश्चल नै मुख्य भूमिकामा छन् । यसर्थ यो फिल्ममा स्टारकाष्ट छ । ‘सानो संसार’मा भने अधिकांश नयाँ अनुहार हुनेछन् । यसमा स्टारकाष्ट हुने छैनन् । तर, यी दुवै फिल्मको एउटै समानता के हो भने निर्देशक नयाँ छन् । दुवै फिल्मका यी सिनेमा डेब्यु निर्देशन हुनेछन् ।
निर्देशकको नाम नभए पनि ‘बिहे फ्रम मेघौली’मा इनिसियलद ब्यापारका लागि देखाउन निश्चल र स्वस्तिमाको अनुहार हुनेछ । तर, यो सुविधा ‘सानो संसार’लाई हुनेछैन । यसमा अर्जुनकुमार चिनिएको निर्माता मात्रै हुनेछन् ।
‘सानो संसार’मा सिद्धार्थ पुडासैनीको निर्देशन रहनेछ । फिल्ममा सीतादेवी तिमिल्सिना, राज पंगेनी अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको मुख्य भूमिका रहनेछ ।
कलाकारहरु निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, लोकेन्द्र लेखकलाई पनि देख्न सकिन्छ ।
‘बेहुली फ्रम मेघौली’लाई साजन काफ्ले र आकाश बरालले निर्देशक गर्दैछन् । फिल्ममा लेखन पनि उनीहरुकै हुनेछ ।
यता फूलपातीको अवसर पारेर दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन हुने भएको छ । यता विराज भट्टको निर्देशन तथा निर्माणमा उनकै छोरा समिर भट्टलाई डेब्यु गराएर तयार पारिएको फिल्म ‘१२ गाउँ’ पनि दसैँकै मुख ताक्दै फूलपातीकै दिनमा रिलिज गराउन खोजिएको छ । तर, यसको दिन भने तोकिएको छैन ।
ठ्याक्कै मिति नतोकेपनि दसैँमै रिलिज गर्ने घोषणा समेत गरिसकेको छ । सम्भवतः यो फिल्म ‘छक्का पन्जा ५’सँग जुध्ने देखिन्छ ।
आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा निर्माण हुन लागेको ‘छक्का पन्जा ५’ मा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। एक्सन थ्रिलर फिल्म ‘१२ गाउँ’मा विराज र समिरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेब्यु गर्दैछन् ।