चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित कम्तिमा ६५ जना रहेका प्रहरीले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् ।
यसैबीच भरतपुर महानगरपालिका–२९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बुटवलबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु २ ख ६५६६ नं.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सहित ढुङ्गा खसी बसमा लाग्दा बस चालक जिल्ला नवलपरासी सुनवल नगरपालिका–४ बस्ने बर्ष ३६ को मेगनाथ बिक गम्भीर घाइते भई उपचारका लागि भरतपुरतर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
बस घटना स्थलमै रहेको बसमा सवार यात्रुहरुलाई केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।