काठमाडाैं । सरकारले रात्री बस सञ्चालनमा रोक लगाउनेबारे सरोकारवालालाई छलफलमा बोलाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने विषयमा सरोकारवालासँग छलफल गर्न लागिएको जानकारी दिए । यातायात व्यवसायीका प्रतिनिधिसहित सरोकारवालासँग गृहमन्त्रालयमा छलफल हुँदैछ ।
उनले भने, ‘सरोकारवालासँग छलफलमा बसेपछि यस विषय टुङ्गिन्छ । अहिले नै गृहले प्रस्ताव गरेको छैन । छलफलपछि प्रस्ताव गर्ने नगर्ने विषयबारे टुङ्गो लाग्छ ।’
आज (शुक्रबार) बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर यात्रु वेपत्ता भएपछि मन्त्रालयले वर्खामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाउन लागेको हो ।
यसअघि २०७९ साल साउनमा रातकाे यात्रा जोखिमपूर्ण भएको भन्दै मकवानपुर प्रहरी प्रशासनले त्रिभूवन राजपथ हुँदै काठमाडौँ आउने बसलाई रोक लगाएको थियो ।