प्रचण्डको गम्भीर आरोप : कांग्रेस र एमालेलाई माफियाहरुले मिलाए-Sutra News

प्रचण्डको गम्भीर आरोप : कांग्रेस र एमालेलाई माफियाहरुले मिलाए

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासनको अभियानको प्रभाव नै अहिलेको अहिलेको कांग्रेस र एमाले गठजोड भएको आरोप लगाएका छन् । विश्वासको मत माग्दै प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले सुशासन विरोधी तत्वले नै कांग्रेस–एमालेलाई एक ठाउँमा ल्याएको बताए ।



प्रचण्डले कांग्रेस र एमालेलाई एक ठाउँमा ल्याउन कांग्रेस नेता एवम् उद्योगी विनोद चौधरीसमेत देखिएको संकेत गरेका छन् ।

“सरकारको सुशासन अभियानले हिजोसम्म कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो, त्रिविको जग्गा खोज्न थालियो एउटा समूह डरायो, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु भयो अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो”, उनले भनेका छन्, “बाँसबारीदेखि बालमन्दिरसम्मका जग्गा खोजी हुन थालेपछि देशको शक्ति नै खलबलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो ।”

माफिया वर्गले आफ्नो शक्ति देखाएको भन्दै प्रचण्डले जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । “अनौठो लाग्ला, त्यो वर्गले आफ्नो शक्ति देखायो, गम्भीर ढंगले आत्मचिन्नत गर्न मेरो अपिल छ, जनतालाई मेरो अपिल छ जनता जाग्नुस्, तपाईंहरुले पनि आफ्नो शक्ति देखाउने बेला आयो”, उनले भनेका छन् ।

सही नियतले गठबन्धन गरिएको भए खुला र पारदर्शी नै हुने प्रधानमन्त्री प्रचण्डको भनाई छ । सहमति गर्न किन अँध्यारो कोठा खोजियो भन्ने प्रश्न प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

“रहस्यमय ढंगले संविधानमाथि छेडछाड गर्ने कोसिस भएको छ, यो प्रतिगमनतर्फको तरिका हो, हस्ताक्षरको समय कुन रोज्नु भयो, जनताले बुझिरहेका छन्, नियत सफा भए सहमति गर्न अध्यारो र बन्द कोठा चाहिन्छ ?”, प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट