काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको मिलन अध्यारो कोठामा भएको बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस–एमालेको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिइएको बताउँदै अध्यारो कोठामा गरिएको सहमतिले नै यो कस्तो सहमति हो ? भन्ने स्पष्ट भएको बताएका हुन् ।
उनले साच्चैको राष्ट्रिय सहमति गर्न अँध्यारो कोठा नचाहिने बताउँदै आफूले सुशासनका काम गर्न थालेपछि दुई ठूला दल मिलेको दाबी गरे ।
उनले भने, ‘पहिलो र दोस्रो दल मिल्न अँध्यारो कोठा चाहिन्छ ? कसको घरमा गएर सहमति गर्नु भएको छ ? तपाईंहरु राष्ट्रिय सहमतिका लागि र राष्ट्रिय आवश्यकताका लागि मिल्नु भएको होइन, कसैले तपाईंहरुलाई मिलाइदिएको छ ।’
उनले पहिलो र दोस्रो दल मिलेर दुनियाँमा लोकतन्त्र कमजोर मात्र बनाएको र निरंकुशतालाई प्रवर्धन गरेको बताएका थिए ।