काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमान्तकृत वर्गलाई जिस्क्याउने कोसिस नगर्न चेतावनी दिएका छन् । संविधान संशोधन गरेर परिवर्तनकारी एजेन्डाहरू खोस्न खोजिएको तर्फ सङ्केत गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
अधिकार खोस्ने गरी कदम चालिए ठुलो प्रतिरोधमा उत्रिए प्रचण्डको चेतावनी छ । “हिजो निदाएको सीमान्त वर्गमाथि जति शासन भयो/भयो, युद्ध र आन्दोलनले भट्टीले त्यो वर्गलाई जगाएको मात्रै छैन, राप र तापसहित इस्पात बनाएको छ”, उनले भनेका छन्, “उत्पीडित जात, क्षेत्र, वर्गको ठुलो बलिदानबाट प्राप्त उपलब्धिहरूलाई जिस्क्याउने कोसिस नगर्नुहोला । यो प्रयास भयो भने संसद् र सडकमा ठुलो प्रतिरोध हुनेछ ।”
उनले आफूसँग रिस फेर्न मुलुकलाई द्वन्द्वतर्फ लैजाने प्रयत्न नगर्न पनि नेपाली कांग्रेस र नेकपा (एमाले)लाई आग्रह गरेका छन् ।
“प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोला, भुईँ मान्छेहरूको विद्रोह र प्रतिरोध सबैले देखि नै सकेका हो नि ! त्यो अवस्था फेरि ननिम्तियोस्”, उनले भनेका छन् ।
आफूले युद्धलाई शान्तिमा अवतरण गराएको भन्दै उनले अर्को युद्ध भएमा मुलुकमा शान्तितर्फ जान मुस्किल हुनसक्ने तर्फ सङ्केत गरेका छन् । “क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै नजन्म पनि सक्छ, तपाईँले जगाउने अस्थिरताको आगो राष्ट्रका निम्ति महँगो पर्न पनि सक्छ”, उनले भनेका छन् ।
समानुपातिक तथा समावेशिताको विषय सामान्य रूपमा आएको नभई ठुलो त्याग र बलिदान यसमा जोडिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले अगाडि भनेका छन्, “संविधानमा समावेशिताको रचनाको गर्व सामान्य छैन । हजारौँ हजार नेपालीको त्याग र बलिदान छ यसमा, हेक्का होस् ।”