काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउँमा आएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले प्रधानमन्त्रीले तीन-तीन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको स्पष्ट गरेका हुन् ।
उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताए । उनले नयाँ सरकारले सुशासन दिने काम गर्न सहमति गरिएको दाबी गरे ।
लेखकले संविधान प्रारम्भ भएको आठ वर्षभन्दा बढी समय भएको बताउँदै संविधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संविधान संशोधन गर्ने स्पष्ट गरे ।
लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबी गरे । उनले संविधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संविधानमा नै १० वर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।