काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव असफल भएको हो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा ६३ र विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्ने पक्षमा एक मत परेको छ। दुई सय ६८ सदस्यीय प्रतिनिधिसभाकाे शुक्रबारको बैठकमा दुई सय ५८ सदस्यको उपस्थिति थियो ।
प्रधानमन्त्रीको पक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायतले मत हालेका थिए । तर, उनको विपक्षमा संसद दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायतले मत हालेका थिए ।
योसँगै तेस्रो पटक सरकारको नेतृत्वबाट प्रचण्ड बाहिरिएका छन् । उनी गत २०७९ पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
योबीचमा प्रधानमन्त्री प्रचण्डले शुक्रबारसम्मको गरी पाँच पटकसम्म विश्वासको मत लिएका थिए ।
पाँचाै पटक विश्वासकाे मत
उनले पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि पुस २६ मा विश्वासको मत लिएका थिए । तत्कालिन समय उनको प्रस्तावको पक्षमा दुई सय ६८ जनाले मत हालेका थिए । दुई सय ७० सांसद उपस्थित बैठकमा दुई जनाले मात्रै विपक्षमा मत हालेका थिए ।
प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन परिवर्तन (एमालेलगायतका दलहरु बाहिरिए)सँगै २०७९ चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा उनलाई प्रतिनिधिसभा एक सय ७२ सांसदले विश्वासको मत दिएका थिए । तत्कालिन समय विपक्षमा ८९ सांसदको मत परेको थियो । एक जना सांसदले तटस्थ मत हालेका थिए ।
कांग्रेससहितको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले २०८० फागुन ३० मा तेस्रो पटक विश्वासको मत लिएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा उनको पक्षमा संसदका एक सय ५७ सांसदले मत दिएका थिए । दुई सय ६८ सांसदमध्ये एक सय १० सांसदले विपक्षमा मत हालेका थिए । एक जनाले भने तटस्थमा मत हालेका थिए ।
पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) नेपालको विभाजनसँगै समर्थन फिर्ता लिएपछि २०८१ जेठ ७ मा चौथो पटक विश्वासको मत लिएका थिए । चौथो पटक विश्वासको मत लिँदा पनि पक्षमा एक सय ५७ मत परेको थियो । कांग्रेसलगायतका विपक्षी दलहरु विरोधमा रहेको बखत विश्वासको मत लिँदा विपक्षमा मत खसेको थिएन । एक जना सांसदले भने तटस्थमा मत हालेका थिए ।