‘जादुयी नम्बर’को डिङसँगै गुमेकाे अवसर-Sutra News

‘जादुयी नम्बर’को डिङसँगै गुमेकाे अवसर

नारायण शर्मा भन्छन्– पल्टुराम शैलीले प्रचण्डले विश्वसनीयता मात्रै गुमाएनन्, सत्तामा फर्किने सम्भावना पनि साँघुरो पारे

शुक्रबार, २८ असार २०८१

शुक्रबार, २८ असार २०८१

काठमाडौं । धेरै परको कुरा होइन, तीन साताअघि असार ८ गते मात्रै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग ‘जादुयी नम्बर’ छ भन्दै सत्ताबाट कसैले हटाउन नसक्ने डिङ हाँकेका थिए । जति पटक सत्ता समीकरण परिवर्तन भएपनि आफू नेतृत्वमा रहिरहने दाबी प्रचण्डको थियो ।



“थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन, जादुवाला नम्बर छ, त्यो जादुले अनेक गरेर मिलाई हाल्छ, त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन”, प्रचण्डले भनेका थिए, “मैले जे देखेको छु सबै परिस्थिति, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ, हामीलाई हटाउन सजिलो छैन ।”

तर, प्रचण्डको त्यो अभिव्यक्ति एक महिना पनि टिकेन । सायद, प्रचण्डका निम्ति त्यही अभिव्यक्ति अभिशाप बन्यो ।

पछिल्लो घटनाक्रम प्रचण्डको त्यही अभिव्यक्तिपछि विकास भएको देखिन्छ । घटनाक्रम जे भएपनि, प्रचण्डको हातबाट तेस्रो पटकको अवसर गुमेको छ ।

गणीतिय जटिलताका बीच तेस्रो र सानो पार्टी, त्यो पनि जम्मा ३२ सिट भएपनि प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए । कसैले पनि बहुमत नल्याएको र दुई ठूूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) नमिल्दा प्रचण्डका निम्ति यस्तो अवसर जुरेको थियो । तर, कांग्रेस र एमालेबीच असार १७ को मध्यराति भएको सहमतिसँगै भने उनले त्यो अवसर पनि गुमाए ।

अरुलाई खेलाएरै सधैँ फाइदामा

राजनीतिमा बढी प्रयोग हुने एउटा उखान छ, ‘फुटाऊ र राज गर’ ! प्रचण्डको राजनीतिक जीवनलाई केलाउँदा ठ्याकै त्यस्तै भेटिन्छ । उनको राजनीतिलाई केलाउँदा जहिले पनि अन्तरसंघर्ष सिर्जना गराउने र त्यसैमा खेलेर फाइदा लिने शैलीमा प्रस्तुत भएको पाइन्छ ।

२०४८ देखि नै प्रचण्ड लगातार पार्टीको नेतृत्वमा छन् । सशस्त्र संघर्षको क्रममा नेतृत्व हेरफेर अप्ठ्यारो भएपनि शान्तिपूर्ण राजनीतिको दुई दशकको अवधिमा पनि उनले नेतृत्वमा आफूलाई नै अविछिन्न स्थापित बनाइरहेका छन् ।

यसमा अरुलाई लडाएर राज गर्ने नीति नै हाबी भएको देखिन्छ ।

माओवादी पार्टीभित्र कहिले मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराईबीच अन्तरसंघर्ष गराएर त कहिले वर्षमान पुन र जनार्दन शर्मालाई लडाएर उनले नेतृत्वमा आफूलाई स्थापित गरारहेको देखिन्छ । पछिल्लो माओवादी केन्द्रको महाधिवेशन र देव गुरुङको महासचिव पदलाई हेरे पनि त्यो प्रष्ट हुन्छ ।

पार्टीभित्रको राजनीतिमा यसरी फाइदा लिइरहेका प्रचण्डमा सत्ता राजनीतिको सन्दर्भमा पनि यही शैली हाबी भएको देखिन्छ ।

पहिलो पटक अप्रत्यासित जनमतले २०६५ साउनमा प्रधानमन्त्री बनेका प्रचण्ड, त्यसयता जनमत अनुकुल नभएपनि सत्ताको नेतृत्वमा आइरहे ।

प्रचण्ड दोस्रो पटक २०७३ साउनमा सरकारको नेतृत्वमा आएका थिए । कांग्रेस र एमाले नमिल्दाको फाइदा उठाएर तत्कालिन समय उनले झण्डै एक वर्ष सरकारको नेतृत्व चलाएका थिए ।

पछिल्लो आम निर्वाचन २०७९ मंसिरले प्रचण्डलाई निकै कमजोर बनायो । उनको पार्टी तेस्रो शक्ति मात्रै बनेन, असाध्यै कमजोर पार्टी बन्यो ।
यद्यपि, कांग्रेस र एमालेबीचको विवादको फाइदा उठाएर ३२ सिटे प्रचण्ड प्रधानमन्त्री बने । कांग्रेससँगको गठबन्धनमा चुनावमा लडेका प्रचण्ड एमालेसँग सहयोग लिँदै प्रधानमन्त्री बनेका थिए ।

यद्यपि, योबीचमा पटक–पटक दुई दललाई उपयोग गरी प्रचण्ड सत्तामा रही रहे । २०७९ पुस १० यता १८ महिनाको बीचमा सत्ताको नेतृत्वमा रहेका प्रचण्डले तीन पटक बढी सत्ता समीकरण हेरफेर गरेका थिए ।

अनौठो विषय, कहिले कांग्रेस त कहिले एमाले उनका सहयोगी दल बने ।

सधैँलाई किनारालाई पर्ने सम्भावना

माओवादी आन्दोलनका एक नेता नारायण शर्मा, प्रचण्डले जादुयी नम्बरको अवसर गुमाएको बताउँछन् । पछिल्लो परिस्थितिले प्रचण्ड सधैँलाई किनारा पर्ने अवस्था रहेको जस्तो देखिएको पनि उनको बुझाई छ ।

“यति सानो अंकको साहारामा जसरी सत्तामा पुगे, त्यो निकै महत्वपूर्ण थियो, जुन उनका निम्ति ठूलो अवसर पनि थियो”, शर्माले भनेका छन्, “यद्यपि, त्यो अवसर गुमेको छ, पछिल्लो परिदृश्य हेर्दा, उनी सधैँलाई त किनारामा पुग्दैनन् भन्न पनि सकिन्न ।”

शर्माका अनुसार ‘पल्टुराम’ शैलीले प्रचण्डप्रतिको विश्वसनीयता गुमेको छ । जसको कारण उनले फेरि अवसर पाउने अवस्था पनि गुमाएका छन् ।

“प्रचण्डलाई पल्टुराम भनेर चित्रित गरिन्छ, जसरी एकपछि अर्को गर्दै उनले समीकरण परिवर्तन गरिरहे, यससँगै उनले आन्तरिक तथा बाह्य विश्वसनीयता पनि गुमाए, न उनलाई दक्षिणले, न त उत्तरले विश्वास गर्ने परिस्थिति बन्यो”, शर्माले भनेका छन्, “पछिल्लो घटनाक्रमसँगै उनी कसैले पनि विश्वास नगर्ने जस्तो पात्रमा चित्रित भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट