काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शिलत निवास गएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएपछि उनी संविधानअनुसार नयाँ सरकार गठनबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न गएका हुन् ।
शुक्रबार बसेको संसद बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव असफल भएपछि राष्ट्रपतिले भेट्न गएको माओवादी केन्द्रका नेता माधव सापकोटाले जानकारी दिए ।
‘प्रधानमन्त्री संसदमा भएका सबै कुराको रिपोर्टिङ गर्न गरी सम्मानीय राष्ट्रपति कार्यालयमा जानु भएको छ, संविधानमा के कुरा स्पष्ट छ भने प्रधानमन्त्रीले राजीनामा नदिएर संवैधानिक अधिकार प्रयोग गरे, यसपछाडि ७६ को उपधारा ३ अनुसार नै सरकार बन्नु पर्ने संवैधिानक व्यवस्था छ,’ माओवादी केन्द्रका नेता माधव सापकोटाले भने, ‘हामी यसैको माग राष्ट्रपतिसँग गर्छौं, राष्ट्रपतिले संविधानलाई मिच्नु हुन्न, संविधानलाई संरक्षण गर्ने उहाँको जिम्मेवारी हो, आशा गरौँ उहाँले कानूनको ज्ञाताहरूसँग छलफल गरेर यो विषयलाई टुंग्याउनु हुनेछ ।’
प्रचण्डले विश्वासको मत माग्दै राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा पक्षमा ६३ र विपक्षमा १९४ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो ।
कूल दुई सय ६८ सदस्य प्रतिनिधिसभामा शुक्रबारको बैठकमा दुई सय ५८ सदस्यको उपस्थिति थियो ।