काठमाडौं । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्र ‘जेरीः अन टप’प्रति पुरानो ‘जेरी’ चलचित्रका निर्माता मनोजकुमार शेरचन र सहनिर्माता सम्राटप्रसाद गौचनले आपत्ति जनाएका छन् ।
शेरचन र गौचनले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘जेरी’ २०७१ साल कात्तिक २८ गते रिलिज भएको थियो। अहिलेको ‘जेरीः अन टप’का निर्माता सरोज न्यौपानेले आफूहरुसँग व्यावसायिक इमानदारिता नदेखाएकोमा शेरचन र गौचनले आपत्ति जनाएका हुन् ।
सरोज न्यौपानेले ‘जेरी’को सिक्वेलका रुपमा ‘जेरी–२’ निर्माण गर्न आफू इच्छुक रहेको र आफूलाई ‘जेरी-२’ टाइटल प्रयोगको अनुमति दिन अनुरोध गरेपछि मनोजकुमार शेरचन र सम्राटप्रसाद गौचनले १५ लाख रुपैयाँको शर्तमा अनुमति प्रदान गरेका थिए । सोही अनुरुप २०७९ असार २० गते दुई पक्षबीच कागजी सम्झौता भएको थियो ।
तर, सम्झौता भएको ६ महिनापछि न्यौपानेले आफूहरुले ‘जेरी २’ नबनाउने निर्णय गरेको र ‘जेरी’ टाइटल पनि आवश्यक नपरेको बताउँदै शेरचनसँग पैसा फिर्ता मागे । न्यौपानेको अनुरोधपछि शेरचनले आफूले पहिलो किस्तावापत् लिएको ५ लाख नगद फिर्ता गरिदिए । र, सम्झौतापत्र रद्द गरिदिए ।
त्यसपछि मनोजकुमार शेरचन र सम्राटप्रसाद गौचन दुवैजना आफ्नै ढंगले ‘जेरी–२’ बनाउने सल्लाहमा लागे । तर, सोही बीचमा सरोज न्यौपानेले ‘जेरीः अन टप’ चलचित्र बनाउने घोषणा गरे । मिडियाहरुमा समाचार पनि आए । न्यौपानेले पोस्टरमा ‘जेरी’ शब्दलाई ठूलो साइजमा हाइलाइट गराएका छन् भने ‘अन टप’लाई सानो साइजमा राख्न लगाएका छन् ।
‘न्यौपानेको नियत हामीसँग अनुमति नै नलिई बिना कुनै शुल्क ‘जेरी’ नाम भजाउनु रहेछ,’ शेरचन र गौचनले भने,‘उनको यो क्रियाकलापले गर्दा मिडिया र आम दर्शकमा ‘जेरीः अन टप’ नै ‘जेरी’को सिक्वेल हो भन्ने भ्रम पैदा भएको छ ।’
केही मिडियाले अझै पनि ‘जेरीः अन टप’लाई ‘जेरी–२’कै रुपमा प्रचारप्रचार गरिरहेको शेरचन र गौचनले पाएका छन् । तर, उनीहरु पुरानो ‘जेरी’ चलचित्रसँग यो ‘जेरीः अन टप’को कुनै पनि साइनो नरहेको प्रष्ट पार्छन् । र, भन्छन्, ‘हामी निकट भविष्यमा छिट्टै ‘जेरी–२’ निर्माण गर्दैछौं, अहिले कथा लेख्ने काम भइरहेको छ ।’
निर्माताद्वय शेरचन र गौचनले बिहीबार चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघमा चलचित्र ‘जेरीः अन टप’प्रति आपत्ति जनाउँदै निवेदन पनि दिएका छन् ।
यस्तो थियो सम्झौतापत्र :
jerry2 contract paper