काठमाडौं । पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरे पनि फेला पार्न नसकेको हो । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगर २९ सिमलतालमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए ।
त्रिशूलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए । अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए ।
अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।