काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलको अह्वानसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतल निवास पुगेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका हुन् ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बसेका थिए ।
धारा ७६ को उपधारा २ मा दुई वा सोभन्दा बढी दलको सरकार गठन हुने प्रावधान संविधानमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पद मुक्त भएका थिए ।
यसैबीच राष्ट्रपति पौडेलले कानूनविदसँगको परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गरेका छन् । उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने छ ।’
राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म समय दिएर सरकार गठनको दाबी पेश गर्न भनेका थिए ।