काठमाडौं । प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुशुम शर्मा फिल्म ‘माइली’मा अनुबन्ध भएकी छन् । निर्माण पक्षले उनीसँग यसै साता निर्माण पक्षले कागजी सम्झौता गरेको हो ।
बाबु साहेब बलामीको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा कुसुमको भूमिका के हुने भन्ने खुलाइएको छैन ।
महिला केन्द्रित कथामा बन्न लागेकाले फिल्मको एक मुख्य भूमिकामा कुशुम अनुबन्धसँगै कलाकारको लाइनअप पुरा भएको निर्माणपक्षले बताएको छ । यसअघि नै ‘माइली’ अभिनेतृ करिश्मा मानन्धर र प्रियंका कार्की अनुबन्ध भइसकेका छन् । यसै फिल्मबाट बाल गायिका कमला घिमिरेले पनि ठूलो पर्दामा ‘डेब्यू’ गर्ने बताइएको छ ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यस फिल्म बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहनेछ । उनका अनुसार ‘माइली’ सत्य घटनामा आधारित महिलाको पीडा देखाउने फिल्म हो ।
फिल्मबारे बलामी भन्छन्, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ ।’
असारको अन्तिमबाट छायांकन निस्कने तयारीमा निर्माण पक्ष रहेको छ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिने बताइएको छ।