आइतबार प्रधानमन्त्री बन्दै ओली, साँझ ५ बजे शपथ लिने तयारी-Sutra News

आइतबार प्रधानमन्त्री बन्दै ओली, साँझ ५ बजे शपथ लिने तयारी

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न असफल भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरे ।



राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए । तर, संसदका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदको हस्ताक्षरसहित शुक्रबार राति राष्ट्रपति कार्यालय शितल निवास पुगे ।

कांग्रेसको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नयाँ प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । तर, आइतबार मात्रै उनी प्रधानमन्त्रीमा नियुक्ति हुने भएका छन् ।

कांग्रेस र एमालेका सांसदहरूले संयुक्त हस्ताक्षर बुझाएसँगै आइतबार साँझ ५ बजे एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको तयारी छ । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै साँढे ५ बजे शपथको तयारी भएको राष्ट्रपति कार्यलय स्रोतले जानकारी दियो ।

मुख्यसचिव, राष्ट्रपति कार्यालयका सचिव र कामचलाउ प्रधानमन्त्रीको सचिवालयबीच समन्वयको काम अगाडि बढाइसकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

शुक्रबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस र एमालेका १६६ सांसदले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । दुई ठूला दलको सत्ता गठबन्धनमा सहभागी हुन चाहेका साना दलहरूलाई समेत सरकारमा सहभागी गराउने कांग्रेस–एमालेको तयारी छ ।

आइतबार साँझ नवनियुक्त प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका रमेश लेखकसहित दुई र नेकपा एमालेबाट कम्तीमा दुई मन्त्रीले शपथ लिने तयारी छ ।

यसअघि संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेको सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गर्दै आएको नेकपा माओवादी केन्द्रले अहिलेसम्म नयाँ सरकार निर्माणबारे कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।

यही असार १७ गते सोमबारको मध्यराति कांग्रेस र एमालेबीच आगामी निर्वाचनसम्म सत्ता सहकार्यको सम्झौता भएको थियो । सोहीअनुसार पहिलो पटक ओली आइबार प्रधानमन्त्री बन्ने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट