काठमाडौं । आइतबार साँझ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तय भइसकेको छ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित साना दल मिलेर बन्न लागेको सरकारमा कांग्रेसले सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउने गृहकार्य गरिरहेको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवाले संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित आफ्नै समूहका प्रभावशाली नेतासँग छलफल तीव्र बनाएका छन् ।
दुई ठूला दल मिलेर बन्न लागेको सरकारले राम्रो परिणाम निकाल्नु पर्ने दबाबबीच पार्टीभित्र सन्तुलन मिलाएर सरकारमा प्रतिनिधित्व गराउने देउवाको तयारी छ । सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको छ ।
स्रोतका अनुसार सभापति देउवाले यसपटक १४ औँ महाधिवेशनमा आफूलाई साथ दिएका पूर्व उपसभापति प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाउने तयारी गरेका छन् ।
सिंह भौतिक पूर्वाधार वा शहरी विकास मन्त्रालय सम्हाल्दा कांग्रेसबाट रमेश लेखले गृह, देउवा पत्नी आरजु राणाले परराष्ट्र सम्हाल्ने निश्चित छ । योसँगै कांग्रेस सहमहामन्त्री जीवन परियार र अजय चौरसिया मन्त्री बन्ने निश्चित भइसकेको छ ।
एमालेसँग भएको सहमतिअनुसार कांग्रेसले ओली नेतृत्वको सरकारमा बढीमा १० मन्त्रालय पाउने छ । अहिलेसम्म टुंगिएका पाँच नाममध्ये सहमहामन्त्री जीवन परियार मात्रै संस्थापन इतर समूहका हुन् । बाँकी चार जना देउवाकै परिवार र निकटका हुन् । यद्यपि, मन्त्रीको नाम कार्य सम्पादन समितिले टुंग्याउने छ ।
मन्त्री बन्न संखुवासभाका सांसद दिपक खड्का, हृदयराम थानी, अर्जुननरसिंह केसी, किशोर सिंह राठौर, डलर अर्बपति विनोद चौधरी, उदय शमशेर राणासहित महामन्त्री गगन थापाले आफूको तर्फबाट प्रदीप पौडेल, शेखर समूहबाट डा. चन्द्र भण्डारी दौडधुपमा रहेका छन् । तर, बाँकी मन्त्रीको नाम टुंगोमा पुर्याउन कांग्रेसले थप छलफल गर्ने जनाएको छ ।