मोदीबेनीको गीत नचलेपछि पुरस्कारको ‘ललिपप’-Sutra News

मोदीबेनीको गीत नचलेपछि पुरस्कारको ‘ललिपप’

शनिबार, २९ असार २०८१

शनिबार, २९ असार २०८१

काठमाडौं । फिल्ममा गीत हुनु भनेको संवादबिनाको ट्रेलर जस्तो हो । त्यसैले पनि गीतलाई फिल्म प्रमोसनको पहिलो हतियार मानिन्छ । त्यही भएर फिल्मको निर्माण चरणदेखि नै टिमले प्रचार प्रसारमा निकै मिहिनेत गरेका हुन्छन् । तर, गीत सार्वजनिक भएसँगै दर्शकको साथ नपाउँदा फिल्मको व्यापारलाई पनि असर परिरहेको हुन्छ । यसको अर्थ फिल्मप्रति दर्शको नजार नपर्नु हो ।



व्यावसायिक फिल्म उद्योगको अग्रणी मानिने हलिउडले नाचगानलाई खासै स्थान दिँदैन । राम्रा अवार्ड जितेका अधिकांश फिल्ममा नाचगान देखिँदैन । दक्षिण एसियाली फिल्ममा भने नाचगानकै हालीमुहाली हुने गरेको छ । नेपालका धेरैजसो फिल्मकर्मीहरूलाई पनि लाग्छ, गीत संगीत फिल्म चलाउने सबैभन्दा महत्त्वपूर्ण हतियार हो ।

विशेषत प्रेमकथामा फिल्म बनाउँदा गीतलाई प्राथमिकतामा राखेर रिलिजअगावै हिट बनाउन सके निर्माण टिम फिल्म चलाउन खप्पिस रहेको ठहरिन्छ । यसको पछिल्लो समयको एउटा सानो उदाहरण हो- फिल्म ‘बोक्सीको घर’ । ‘बुझिनँ मैले’ बोलको यो गीतले युटयुबमा करोडौं भ्युजदेखि कैयौं दर्शकलाई ‘बोक्सीको घर’ हेर्न हलसम्म तानिदियो । जसले फिल्म सुपरहिट सावित भयो ।

यता, आगामी साउन १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मोदीबेनी’को निर्माण पक्षले प्रचार-प्रसार गर्ने हेतुले गत सोमबार ‘मन्जुरी’ शीर्षकको गीत सार्वजनिक गरे ।

हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्म निर्माण पक्षले सार्वजनिक गरेको ‘मन्जुरी’ गीतमा दर्शकको खडेरी लागेको देखिन्छ । यो गीत सार्वजनिक भएको करिब एक हप्ता हुन लाग्यो । तर, गीतको भिडियोले दुई लाख ८६ हजार हारहारीको भ्यूज पाएको छ । सोही अवधिमा एक सय ५७ जनाले कमेन्ट गरेका छन् । यसरी हेर्दा यो गीतलाई दर्शकले खासै रुचाएका छैनन् भन्ने बुझिन्छ ।

एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द र एसडी योगीकै संगीत रहेको छ ।

गीतको कोरियोग्राफी झिल्के-मिल्के र तड्कभड्क रहेको देखाउन खोजिएको छ । तर, भिडियोका लागि जति तड्कभडक भए पनि ‘मन्जुरी’ गीत युट्युबमै चल्न सकस देखिएको छ । गीतको अडियो र भिडियोले दर्शकको मन जित्न सकिरहेको छैन ।

गीतले फिल्मको अपेक्षाकृत माहोल बनाउन नसकेको हो कि भन्ने ठहर्‍याउन सकिन्छ । यतिबेला अडियो र भिडियो नचलेपछि निर्माण टिम यसलाई कसरी हुन्छ चलाउनै पर्ने दबाबमा देखिएका छन् । जसले गर्दा फिल्मको टिमले गीत सार्वजनिक भएर नचलेपछि उक्त गीतमा आधारित रही रिल बनाउने प्रतियोगिता घोषण गरेको छ । यसका लागि टिमले पुरस्कारको ‘ललिपप’ देखाउन भ्याएका छन् ।

जसमा निर्माण टिमले रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी तीन जना विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्ने बताएको छ । यसरी हेर्दा उनीहरुले तीन लाख भ्यूज कटाउन नसकेको गीतलाई सकेसम्म बढी भ्यूज बटुल्नतिर लागिपहेको देखिन्छ ।

त्यसो त, नाम चलेका कलाकारहरू अगाडि हुनु तर फिल्मको गीतप्रति दर्शकको आकर्षण नहुनुले निर्माण पक्षलाई ठूलो धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट