कठिन सुरुवाती, उत्तरार्धमा बलियो प्रभावसहित अवसरै अवसर-Sutra News

कठिन सुरुवाती, उत्तरार्धमा बलियो प्रभावसहित अवसरै अवसर

राजनीतिमा होमिएको एक वर्षमै परेका थिए गिरफ्तारी

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

केपी शर्मा ओलीको जन्म वि. सं. २००८ सालमा बुवा मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट पूर्वी नेपालको तेह्रथुममा भएको हो । ओली सानो छँदै उनकी आमाको निधन भएको थियो । पछि उनका बुवा बालबच्चासहित झापाको सुरुङ्गामा बसाईँ सरे । कन्काई नदीको बाढीले ओली परिवारको घर बगाइदियो । 



किशोरावस्थामा ओली रामनाथ दाहालको घरमा काम गरेर विद्यालय जान थाले । ओली उनकै प्रेरणाले कलिलो उमेरमै कम्युनिस्ट बने । उनै रामनाथ दाहाल ०२९ सालमा झापाको सुखानी काण्डमा शहीद भएका थिए ।

राजनीतिक यात्राको प्रारम्भ

०२३ सालमा मार्क्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका ओलीले २०२६ सालमा नेकपाको सदस्यता प्राप्त गरे । औपचारिक राजनीतिक यात्रामा प्रवेश गरेको छोटो अवधिमै (२०२७ फागुन १६ गते) झापाबाट पहिलो पटक गिरफ्तार भए । २०२८ मा झापा आन्दोलन सङ्गठन कमिटीको प्रमुखमा मनोनीत भएका उनी २०३० असोज २३ मा राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न आरोपमा गिरफ्तार भए र ४ वर्ष गोलघरसहित १४ वर्ष जेल जीवन बिताए । २०३५ पुस ११ मा जेलमै रहँदा त्यति बेला गठन भएको नेकपा मालेको संस्थापक नेताको हैसियत प्राप्त गरे ।

२०४४ असार ११ मा जेलबाट रिहा भएका उनी पुस २ गते बसेको नेकपा मालेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनीत भए । २०४७ जेठ १ मा पार्टीको युवा सङ्गठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष भए । २०४७ पुस २२ गते नेकपा माले र मार्क्सवादीबीच एकीकरण भई बनेको नेकपा एमालेको संस्थापक केन्द्रीय सदस्य बन्न सफल भए ।

पार्टी जिम्मेवारी 

ओली २०५० सालमा पार्टीको केन्द्रीय विभागको प्रमुखसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भए । २०५१ सालमा पार्टी संसदीय विभागको प्रमुख भए । २०५४ माघमा पार्टीको छैटौँ राष्ट्रिय महाधिवेशनमा उनले प्रस्तुत गरेको कार्यनीतिक प्रस्ताव अत्याधिक मतद्वारा पारित भयो । उनी स्थायी समिति सदस्यमा निर्वाचित भए र विदेश विभाग प्रमुखको जिम्मेवारी पाए । २०५६ देखि २०५९ सालसम्म संसद्मा प्रमुख प्रतिपक्षी दलको उपनेताको भूमिका निर्वाह गरे । २०५९ माघमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा पुनर्निर्वाचित भए । २०६५ देखि ६६ सम्म केन्द्रीय पार्टी स्कुल विभाग प्रमुखको भूमिका निर्वाह गरे । २०६५ सालमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले  आन्तरिक लोकतान्त्रीकरण र बहुपदीय प्रणालीको उनको प्रस्ताव स्वीकृत गर्‍यो । तर उनी अध्यक्ष पदमा झलनाथ खनालसँग पराजित भए । त्यति बेला पनि विदेश विभाग प्रमुखको जिम्मेवारीसहित स्थायी समितिमा निर्वाचित भए ।

पार्टी नेतृत्वमा ओली 

केपी ओली लगातार दुई पटक पार्टी अध्यक्षका रूपमा निर्वाचित भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । २०७१ असार २५ देखि साउन १ सम्म काठमाडौँमा भएको नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उनी पहिलो पटक अध्यक्षमा निर्वाचित भए । त्यसबेला उनले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए । २०७८ सालमा उनी दोस्रो पटक अध्यक्षमा निर्वाचित भए । मङ्सिर १० देखि १४ सम्म चितवनमा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा भीम रावललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन ।

संसद् यात्रा

केपी शर्मा ओलीको संसद् यात्रा २०४८ सालबाटै भएको हो । उनले अहिलेसम्मका हरेक निर्वाचन लडेका छन् । त्यसमध्ये ६ वटा निर्वाचनमा विजय हासिल गरेका छन् भने एउटा निर्वाचनमा मात्र पराजित भएका छन् । उनी २०४८ सालको आम निर्वाचनमा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा झापा २ बाट निर्वाचित उनी २०५६ सालको आम निर्वाचनमा फेरि झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । ओली २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भने झापा ७ बाट पराजित भए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभामा भने झापा ७ बाटै निर्वाचित भएका थिए । यही संविधानसभाले संविधान बनायो । संविधान बनेपछिका २०७४ र २०७९ सालमा सम्पन्न निर्वाचनमा उनी झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता अनुभव

केपी ओलीको सत्ता यात्रा २०५१ सालबाटै प्रारम्भ भएको हो । २०७२ सालमा प्रधानमन्त्री बन्नुअघि उनले २ पटक मन्त्री भएर मन्त्रालय सम्हालेको अनुभव लिइसकेका थिए । २०५१ सालमा गठन भएको तत्कालीन मनमोहन अधिकारी नेतृत्वको एमालेको अल्पमतको सरकाका गृहमन्त्री ओली नै हुन । पछि दोस्रो जनआन्दोलन सफल भएपछि २०६३ सालमा बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बने ।

उनै ओली अहिले चौथो पटक प्रधानमन्त्री बनेका छन् । यसअघि संविधानसभाले संविधान बनाएपछि २०७२ असोज २४ गते उनी पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसबेला उनको कार्यकाल २०७३ साउन ९ सम्म रहेको थियो । त्यस्तै २०७४ सालको आमनिर्वाचनपछि फागुन ३ गते उनी प्रधानमन्त्रीमा नियुक्त भए । संसद् विघटनपछिको विवादसँगै उत्पन्न राजनीतिक खिचातानिकाबीच २०७८ वैशाख ३० गते उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः शपथ लिए । उनी २०७८ असार २९ सम्म प्रधानमन्त्री पदमा रहे ।

भिडियाेमा पनि हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट