स्वर्णिमको सचिवालयबाट मुकुललाई भौतिक आक्रमणको धम्की !-Sutra News

स्वर्णिमको सचिवालयबाट मुकुललाई भौतिक आक्रमणको धम्की !

वाग्लेको सचिवालय भन्छ– ढकालले लगाएको व्यक्तिगत आरोपभन्दा पार्टीगत आरोप गम्भीर छ

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री डा। मुकुल ढकालले आफूलाई पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमणको धम्की आएको आरोप लगाएका छन् । उनले भौतिक आक्रमणको धम्कीपछि सुरक्षाका लागि प्रहरीलाई समेत अनुरोध गरिसकेको बताएका छन् ।



“स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक–पटक फोन गरे, फोन उठाइन”, सामाजिक सञ्जालमार्फत ढकालले भनेका छन्, “मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनु’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।”

वाग्लेको सचिवालयले भने ढकालले लगाएको आरोप बिना आधारको भएको र जसको राजनीतिक तथा कानुनी उपचार खोजिने बताएको छ । “उहाँले लगाएको आरोप निकै नै गम्भीर प्रकृतिको छ, मलाई कुटपिट गर्न खोजियो भन्ने विषयभन्दा उहाँले सार्वजनिक रुपमा लगाएका अरु आरोप निकै गम्भीर प्रकृतिका छन्”, वाग्लेको सचिवालयका खोम अधिकारीले भने, “पार्टी बैठक बसेर उहाँले लगाएका आरोपबारे के गर्ने निर्णय हुन्छ, यी निकै नै असामान्य खालका छन् ।”

विगतमा समयमा वाग्ले र ढकालबीच संवाद भएपनि कारबाहीपछिको समयमा भने संवाद नभएको दाबी पनि अधिकारीले गरे । “विगतमा संवाद भइरहन्थ्यो, स्वभाविक उहाँ महामन्त्रीसँग सरसल्लाह हुने कुरा भयो, तर कारबाही परेपछि संवाद भएकाे छैन ।”

ढकालले सार्वजनिकरुपमा बोलेका विषयमा छलफल गर्न रास्वपाले आज नै बैठक बोलाएको छ । बैठकपछि नै बाँकी निर्णय हुने अधिकारीले बताए ।

पार्टीबाट निष्कासनमा परेपछि पार्टी नेतृत्वविरुद्ध ढकाल आक्रामक शैलीमा देखिएका छन् । उनले व्यक्तिगत कतिपय राजनीतिक प्रकृतिका गम्भीर आरोप नेतृत्वविरुद्ध लगाएका छन् ।

विशेषगरी पार्टी सभापतिविरुद्ध खनिरहेका ढकालले एक टेलिभिजनसँगको अन्तरवार्ताको क्रममा वाग्लेविरुद्ध पनि गम्भीर आरोप लगाएका थिए । उनको आशय वाग्ले नेपाललाई भारतमा गाभ्ने डिजाइनमा छन् ।

उनका अनुसार काठमाडौंको एक होटलमा भारतीय राजदूतसँग भएको भेटपछि वाग्लेले यस्तो प्रस्ताव राखेका थिए । जुन अभिव्यक्तिपछि वाग्ले सचिवालयबाट फोन आएको आशय ढकालको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट