त्रिशूलीमा बेपत्ता बसका ५८ जना अझै अज्ञात, खोजी कार्य जारी-Sutra News

त्रिशूलीमा बेपत्ता बसका ५८ जना अझै अज्ञात, खोजी कार्य जारी

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान घटेको पहिरो घटनामा परेका दुई बसका ५८ जना यात्रु अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।



घटनामा कूल ६५ यात्रुमध्ये ३ जना पौडेर बाँच्न सफल भएका केही शव फेला परेको छ । प्रशासनका अनुसार दुवै बसमा चलानीमा उल्लेख गरिएभन्दा १५ जना बढी यात्रु रहेको पाइएको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा चलानीमा २७ जना उल्लेख भए पनि ३८ जना यात्रु रहेको पाइएको छ ।

त्यसैगरी, वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बसमा चलानीमा २३ यात्रु देखिए पनि २७ जना यात्रु रहेको खुलेको छ ।

फेला परेका शवमध्ये केहीको सनाखत भइसकेको र १ जनाको सनाखत हुन बाँकी रहेको प्रशासनले जनाएको छ । घटनाको तेस्रो दिनसम्म सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्धारकर्मीले खोजी कार्य जारी राखेका छन् ।

उद्धारकर्मीहरूले बस खसेको स्थानबाट झण्डै एक किलोमिटर तलसम्म खोजी गरिरहेका छन् । तर, अहिलेसम्म बसको अवस्था पत्ता लगाउन सकिएको छैन । प्रशासनले बेपत्ता यात्रुको खोजी कार्य तीव्र पारिएको र थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट