काठमाडौं । नयाँ सरकार बन्ने भएसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामलाई महत्वका साथ हेर्ने बताएका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि रास्वपा सभापतिसमेत रहेका लामिछानेले आइतबार विदाइ कार्यक्रम राखेका थिए । गृह सचिव, सुरक्षा निकायका प्रमुखसमेत उपस्थित कार्यक्रममा उनले ठूला दलहरू मिलेपछि अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेका थिए ।
फरार अभियुक्त पक्राउ परेसँगै अनेक कुरा बाहिर आएको उनको दाबी थियो । ‘कयौँ कुरा बाहिर आएका थिए, सरकार परिर्वतनसँगै सामसुम देखिन्छ,’ उनले भने, ‘नेपाल प्रहरीले र सीआईबीले दतारुकताका साथ काम गरोस् ।’
उनले आफ्नैबारेमा धेरै कुरा उठेको भन्दै भोलि पनि उठ्ने बताएका थिए । ‘मैले आजसम्म आफ्ना विषयमा न यो गर्नुस्, त्यो गर्नुस् भनेको छु, न मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट खोजेको छु,’ उनको दाबी थियो, ‘आफ्नै गृहमन्त्रीलाई हत्कडी लगाउन सक्ने साहस भरेको छु, मन्त्री भएकै कारण अठ्यारो परेको रहेछ भने आजैबाट गहन अध्ययन अनुसन्धान गर्नुस् ।’
उनले आगामी दिनमा आफूहरू प्रतिपक्षमा रहने भन्दै उनले राजनीतिमा नयाँ पुस्ता आइसकेको संकेत गरे । ‘प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन्, आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा (नजर), मेरो मन २४ घन्टा रहिरहने छ,’ उनले भने ।