कांग्रेसभित्र मन्त्री छान्न सकस, शेखर-गगन पक्ष छलफलमा-Sutra News

कांग्रेसभित्र मन्त्री छान्न सकस, शेखर-गगन पक्ष छलफलमा

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । नेकपा एमालेसँग सत्ता सहकार्य भएसँगै कांग्रेसभित्र मन्त्री चयनको विषय जटिल बन्दै गएको हो ।



पार्टी सभापति शेरबहादुर देउवाले आफू पक्षका धेरै नेतालाई मन्त्री चयन गर्ने संकेत गरेका छन् । यता, नेता शेखर कोइराला-गगन थापा पक्ष बैठक बसेर छलफल गरेका छन् ।

कोइरालाको निजी सचिवालयमा बसेको बैठकमा आफ्नो समूहबाट कम्तिमा चार मन्त्रालय पाउनु पर्ने गरी छलफल गरेको छ । एमालेसँग कांग्रेसले १० मन्त्रालय पाउने गरी सहमति गरेको बताइएको छ ।

स्रोतका अनुसार १० मध्ये देउवाले शेखर-गगन समूहलाई तीन मन्त्रालय दिने तयारी गरेका छन् । कोइराला पक्षको बैठकमा महामन्त्रीसमेत रहेका गगनसहित धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारीलगायत नेताहरु सहभागी थिए ।

अहिलेसम्म कोइराला पक्षबाट जीवन परियार, चन्द्र भण्डारी, प्रतिमा गौतमको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । यो पटक देउवा पत्नी आरजु राणा देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट