नयाँ सरकारलाई सेयर बजारको ‘उत्साहपूर्ण’ स्वागत-Sutra News

नयाँ सरकारलाई सेयर बजारको ‘उत्साहपूर्ण’ स्वागत

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ बन्ने सरकारलाई सेयर बजारले उत्साहपूर्णरुपमा स्वागत गरेको छ । सरकार गठन पूर्व ५२.९७ अंकले बढ्दै नेप्से परिसूचकको २२५७.५९ को बिन्दुमा उक्लिएको छ ।



आइतबार नेप्सेले छोएको बिन्दु दुई वर्षयताकै उच्च हो । गत वर्ष साउन ७ मा नेप्से २२२७ को बिन्दुमा पुगेको थियो ।

सँगै नेप्सेमा सात महिना यताकै उच्च कारोबार पनि भएको छ । आइतबार दुई करोड २० लाख ४७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम सात अर्ब ६२ करोड रुपैयाँ माथिको भयो ।

आज वाणिज्य बैंक र जलविद्युत उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले बढ्यो भने अधिकांशको दुई प्रतिशत हाराहारीले बृद्धि भयो ।

यस दिन कारोबारमा आएका २४२ कम्पनीमध्ये २०१ को मूल्य बढ्यो भने ३६ कम्पनीमा सामान्य करेक्सन आयो । पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो ।

रिडि जलविद्युत र माण्डु जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लाग्दा हिमाल दोलखा, अरुण भ्याली र जानकी फाइनान्सको मूल्यमा नौ प्रतिशतभन्दा बढीको बृद्धि भयो ।

एमाले–माओवादीको बिच समीकरणसँगै बजारमा सामान्यखालको उत्साह देखिएको थियो । तत्कालीन समय नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चाले बजारलाई निकै उत्साहित बनाएको थियो ।

जुन उत्साह पुनः अहिले देखिएको छ । पछिल्लो कांग्रेस–एमाले गठबन्धन निर्माणसँगै बजारमा निरन्तर उत्साह देखिन्छ । सरकार गठन पूर्व देखिएको उत्साह थप बढ्ने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट