काठमाडौं । नयाँ सरकार गठनमा सहमति गरेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले मन्त्रालय भागवण्डा टुंग्याएका छन् । दुई दलले मन्त्रालयको महत्वका आधारमा बराबरी हैसियतमा भागवण्डा गरेका छन् ।
नेताहरुले बताएअनुसार दुई दलबीच मुख्य मानिएका १७ मन्त्रालयमा भागवण्डा टुंगिएको छ । जसमा कांग्रेसले गृहसहित नौ मन्त्रालय पाउने भएको छ भने एमालेले अर्थसहित आठ मन्त्रालय पाउने भएको छ ।
सरकारको नेतृत्व पाएको एमालेले अर्थसहित भौतिक योजना तथा पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि सुधार पाएको छ ।
यसैगरी, कांग्रेसले गृहसहित रक्षा, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिंचाई, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला र वन मन्त्रालय पाएको छ ।
बताइएअनुसार कांग्रेसले रमेश लेखकलाई उपप्रधानसहित गृहको जिम्मेवारी दिएर पठाउने तयारी गरेको छ भने एमालेले विष्णु पौडेललाई उपप्रधानसहित अर्थको जिम्मेवारीमा पठाउने तयारी गरेको छ ।
दुई दलले अन्य बाँकी मन्त्रालयमा भने साना दललाई पनि समेट्ने तयारी गरेका छन् ।
दुई दलबीच असार १७ मा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । जसअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हँदैछन् भने दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।