काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएसँगै शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरे । औपचारिक आह्वान भए लगत्तै शुक्रबार नै एमाले अध्यक्ष केपी शर्मा ओली हस्ताक्षरसहित दाबी पेस गर्न पुगे ।
यद्यपि, राष्ट्रपति पौडेलले शुक्रबार नै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेनन् । उनले नयाँ सरकार गठन नभएसम्मको लागि प्रचण्ड नेतृत्वको सरकारलाई नै कामचलाउको रुपमा जिम्मेवारी तोके ।
राष्ट्रपति पौडेल आइतबार अपरान्ह ओलीलाई नियुक्त गर्ने तयारीमा थिए । यद्यपि, आइतबार ओली प्रधानमन्त्रीमा नियुक्त नहुँदै राष्ट्रपति कार्यालयले सपथको निमन्त्रणा पठाउन सुरु ग¥यो । जुन पत्र नियुक्ती अगाडि नै सामाजिक सञ्जालमा छरप्रष्ट बन्यो ।
संसद सचिवालयलाई लेखिएको पत्र ओलीको सचिवालयले चलाउने ‘एमाले खबर’ नामक फेसबुक पेजले सबैभन्दा अगाडि उक्त पत्र सार्वजनिक गराएको थियो । पत्रमा नवनियुक्त प्रधानमन्त्रीको सोमबार बिहान ११ बजे सपथ ग्रहण गराउने कुरा उल्लेख छ । जसमा उपस्थितिको लागि सबै सांसदहरुलाई बोलाउन भनिएको छ ।
राष्ट्रपति कार्यालयकी सहसचिव एवम् प्रवक्ता शैलजा रेग्मीले हस्ताक्षर गरेको उक्त पत्र सार्वजनिक भइरहँदा राष्ट्रपति कार्यालयले ओलीलाई नियुक्ती भने दिइसकेको थिएन । सपथको निमन्त्रणा पत्र अपरान्ह चार बजे सार्वजनिक हुँदा नियुक्ति भने अपरान्ह साढे पाँच बजे दिइएको छ ।
जसबारे राष्ट्रपति कार्यालय प्राविधिक त्रुटि भन्दै पन्छिएको छ । “प्राविधिकरुपमा त्रुटी भयो, हामी सच्याउँछौं”, राष्ट्रपति कार्यालयकी प्रवक्ता रेग्मीले पत्र सार्वजनिक भएको बारे भनेकी छिन् ।