युरोकप विजेताले पाउँछ सवा अर्ब पुरस्कार, अरूले कति पाउँछ ?-Sutra News

युरोकप विजेताले पाउँछ सवा अर्ब पुरस्कार, अरूले कति पाउँछ ?

आइतबार, ३० असार २०८१

आइतबार, ३० असार २०८१

काठमाडौं । आज राति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति १२:४५ बजेदेखि शुरु हुने भएको हो ।



सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । यता, इङल्याण्डले नेदरल्याण्डसलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमध्ये स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । तीन खेल बराबरीमा सकिएका छन् ।

यस्तै युरोकपको उपाधि स्पेन तीन पटक जितेको छ भने इङल्याण्ड पहिलो पटक उपाधिको खोजीमा हुनेछ । युरोकपमा स्पेन पाँच पटक र इङल्याण्ड दोस्रो पटक फाइनलमा पुगेको हो ।

युरोपका देशहरू मात्रै सहभागी हुने यस प्रतियोगिताका लागि ठूलो मात्रामा धन राशीको खर्च हुने गरेको छ । युरोकपको पुरस्कारका लागि मात्रै ३५७ मिलियन अमेरिकी डलर अर्थात ४७ अर्ब ४८ करोड १० लाख रुपैयाँ खर्च हुने भएको छ ।

प्रतियोगितामा सहभागी भएका २४ वटा टोलीले ९.९६ मिलियन डलर अर्थात एक अर्ब ३२ करोड ४६ लाख रुपैयाँ पाउने छन् । यसबाहेक हरेक टोलीले खेलमा वियजी भएवापत पुरस्कार पाउने छन् ।

छनोट खेलमा विजयी भएको एक टोलीले खेलको बोनसवापत १.०७ मिलियन डलर अर्थात १४ करोड २३ लाख रुपैयाँ पाउने छन् । बराबरी खेल भएको उक्त रकमको आधा मात्रै पाउने छ ।

यसैगरी अन्तिम १६ स्थानमा पुगेर जित निकालेको टोलीले प्रति खेल १.६२ मिलियन अमेरिकी डलर अर्थात २१ करोड ५४ लाख रुपैयाँ पाउने छ । यस्तै, क्वार्टरफाइनलमा पुग्ने टोलीले २‍.६९ मिलियन डलर अर्थात ३५ करोड ७७ लाख रुपैयाँ पाउने छन् ।

सेमिफाइनलमा पुगेको टोलीले ४.३ मिलियन डलर पाउने छन् । यी टोलीले ५७ करोड १९ लाख रुपैयाँ पाउने छन् । प्रतियोगितामा उपविजेता बनेको टोलीले ५.४ मिलियन डलर अर्थात करिब ७२ करोड रुपैयाँ पाउने छ ।

विजेता बनेको टोलीले ८.६ मिलियन डलर पाउने छन् । यो रकम एक अर्ब १४ करोड ३८ लाख रुपैयाँ पाउने छन् ।

युरोकप आयोजना गर्ने संस्था यूईएफएका अनुसार एक टोलीले अपराजित यात्रा कायम गर्दै उपाधि रक्षा गर्न सके ३०.४३ मिलियन डलर अर्थात चार अर्ब चार करोड ७२ लाख रुपैयाँ पुरस्कार पाउने छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट