कांग्रेस-एमाले दुबैले टुंग्याए मन्त्रीको नाम, काे-काे बन्दैछन् मन्त्री ?-Sutra News

कांग्रेस-एमाले दुबैले टुंग्याए मन्त्रीको नाम, काे-काे बन्दैछन् मन्त्री ?

सोमबार, ३१ असार २०८१

सोमबार, ३१ असार २०८१

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा (एमाले)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० मन्त्री सहभागि हुँदैछन् भने एमालेबाट ८ मन्त्री सहभागी हुँदैछन् ।



कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने भएकाे छ । नेता सिंहले उपप्रधानसहित सहरी विकासकाे जिम्मेवारी पाउने भएका छन् ।

नेता रमेश लेखकले गृहकाे जिम्मेवारी पाउँदैछन् भने आरजु राणा देउवा परराष्ट्रकाे जिम्मेवारी पाउने भएकी छिन् । यस्तै, अजय चौरसिया कानुन र दीपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन् ।

रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरी, प्रदीप पौडेल, ऐनबहादुर शाहीको नाम टुङ्गिएको भएपनि कुन मन्त्रालय भन्नेबारे भने निर्णय भएकाे छैन ।

यता, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन् । त्यस्तै, उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने भएका छन् । उनी नै सरकारको प्रवक्ता बन्नेछन् ।

त्यस्तै, विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नेछिन् भने उद्योगमन्त्रीमा दामोदर भण्डारी बन्नेछन् । बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बन्ने भएका छन् । एमालेले मानवीर राईलाई रक्षा र देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने भएको छ । राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट