काठमाडौं । नेकपा (एमाले)ले आइतबार नै सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याएको थियो । नवनियुक्त प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको मुख्य नेताहरुको बैठकले नाम फाइनल गरेको थियो ।
यद्यपि, मुख्य नेताहरुले बैठकले टुंग्याएको नाम भने अन्तिम समय हेरफेर भएको छ । सपथको तयारी चल्दै गर्दा पार्टी अध्यक्षसमेतको जिम्मेवारीमा रहेका ओलीले नाम हेरफेर गरेका हुन् ।
नयाँ सूचीमा योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटेको छ । तीन नेताको सट्टा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईले अवसर पाएका छन् ।
देवेन्द्र दाहालले भौतिक पूर्वाधारको जिम्मेवारी पाएका छन् भने बलराम अधिकारीले भूमि व्यवस्थाको जिम्मेवारी पाएका छन् । यस्तै, मानवीर राईले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् ।
ओली नेतृत्वको सरकारमा एमालेबाट आठ मन्त्री सहभागि हुँदैछन् । जसमा उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दैछन् ।
यस्तै, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्दैछन् भने दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।
यस्तै, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।