काठमाडौं । केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ति र सपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनको नियुक्ति र सपथ असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।
खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार रिट दायर गरेका हुन् । अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध रिट दर्ता भएको बताए ।
उनका अनुसार रिट निवेदकहरूले ओलीको नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ । संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ (३) अनुसार नियुक्ति हुनुपर्ने प्रावधान मिचिएको जिकिर रिट निवेदकहरुको छ ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६९ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।
ओलीको नियुक्ति र सपथविरुद्ध दायर रिटको पेशी आगामी साउन ६ गते तोकिएको अधिवक्ता न्यौपानेले जानकारी दिएका छन् ।