‘घरज्वाइँ’ले दुई दिनमा डेढ करोड कमाएको दाबी-Sutra News

‘घरज्वाइँ’ले दुई दिनमा डेढ करोड कमाएको दाबी

सोमबार, ३१ असार २०८१

सोमबार, ३१ असार २०८१

काठमाडौं । अनिल बुढा मगर निर्देशित डेव्यु फिल्म ‘घरज्वाइँ’ सोमबार चौथो दिनमा प्रदर्शनरत छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले घरेलु बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ ।



प्रदर्शनको सुरुवाती दिन शुक्रबार फिल्मको बिहानीका शो औसत रहे पनि केही हलमा उच्च अकुपेन्सी देखिएको थियो भने दोस्रो दिन शनिबार व्यापारमा उल्लेख्य वृद्धि देखिन्थ्यो ।

हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको ‘घरज्वाइँ’ हेरेका दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आइतबारका लागि शोमा वृद्धि समेत गरेका थिए भने मनसुन यामको बाबजुद पनि फिल्मले बक्सअफिसमा सुखद प्रदर्शन गरेको छ ।

‘घरज्वाइँ’ले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको दाबी निर्माण पक्षको छ । निर्माताले पहिलो सप्ताहन्तको कलेक्सन सार्वजनिक गरेका छन् । वितरकबाट प्राप्त आँकडाबाट निर्माणपक्षले प्रदर्शनको तेस्रो दिनमा दुई दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् ।

फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मको व्यापार काठमाडौं उपत्यका र मोफसलमा पनि बराबरकिो व्यापार गरेको जनकारी दिए । विशेषगरी आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको सहरहरुमा ‘घरज्वाइँ’को व्यापार राम्रो देखिन्छ । फिल्मको विषयवस्तु यसको मुख्य कारण हुनसक्छ ।

निर्माण कम्पनी जिएम मुभी प्रोडक्सनले एक पोस्टरमार्फत् शुक्रबार र शनिबार १ करोड ५१ लाख ग्रस व्यापार भएको दाबी गरेको छ । यसमा चलचित्र विकास बोर्डले बक्स अफिसको रिपोर्ट सार्वजनिक नगरेकाले ‘घरज्वाइँ’को कलेक्सन पुष्टि हुने आधार देखिँदैन । यता आइतबारबाट फिल्मको वास्तविक परीक्षा सुरु भएको छ । बिदाको दिन बाहेक जुन फिल्मले अन्य दिनमा दर्शक तान्न सक्छ, त्यसैको आगामी यात्रा दिगो हुने बुझिँदै आएको छ ।

‘गाउँ आएको बाटो’लाई तेस्रो दिन आइतबार देशभर एक सय आठ शो उपलब्ध भएको थियो । त्यस्तै, पूर्वका दमक, बिर्तामोड, इटहरीका हलमा फिल्मको व्यापार सुखद रहेको थियो ।

फिल्मले डेढ करोड ग्रस कलेक्शन गर्दा निर्माताको हातमा ५० देखि ६० लाखसम्म शेयर आउँछ । यसैले यो फिल्मलाई लगानी मात्र सुरक्षित गर्न पनि अझै केही दिन राम्रै व्यापार गर्न आवश्यक छ ।

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर बनेकाले यो फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, विना थापामगर, सोनाम लामा, सुनिल मगर लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतिको छायांकन रहेको यो फिल्ममा विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद, हर्क साउद र मनोज थापाको संगीत, र कृष्ण भन्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट