काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार नै नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
२२ सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजनसमेत टुंगिएको छ ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा दुई उपप्रधानसहित १९ मन्त्री छन् । जहाँ दलगतरुपमा नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन् ।
यसपटक ओलीको क्याबिनेटमा आधाजसो नयाँ अनुहार छन् भने आधाजसो पुरानै अनुहार छन् । २१ मन्त्रीमध्ये १० जनाले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
जसमा कांग्रेसबाट आरजु राणा परराष्ट्र, तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि र ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।
यस्तै, एमालेबाट देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
नयाँ र मिश्रित प्रकृतिको बनेको क्याबिनेटमा दलितको सहभागिता छैन भने महिला दुई जना मात्रै छन् ।
मन्त्री बन्नेमा एमालेबाट सचिव छविलाल विश्वकर्माको नाम सूचीमा परेपनि अन्तिम समय उनी समेटिएनन् । यस्तै, कांग्रेसभित्र पनि सहमहामन्त्री जीवन परियारलाई अघि सार्ने चर्चा भएपनि अन्तिम समय उनको नाम समेटिएनन् ।