फिल्म ‘नाई नभन्नु ल २’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा सिवाकोटीको फिल्मी करिअर आजसम्मलाई सुखद मान्न सकिँदैन । भलै, उनको हातमा केही फिल्म छन् । तर, वर्षाले करिअरमा कहिले पनि गतिलो स्थान भने बनाउन सकिनन् ।
वर्षाले अभिनय गरेका अधिकांश फिल्म असफल भएका छन्। उनको करिअर सधैँ नै जसोतसो चलेको धेरैले अनुमान लगाउँछन् । उनले काम गरेको फिल्म ‘पशुपति प्रसाद’ सर्वाधिक चर्चित रहे पनि यसमा वर्षाको भूमिकामा निकै छोटो थियो, यसैले यो फिल्मको सफलताको जस उनले लिन पाइनन् ।
उसो त वर्षाले अभिनय गरेको फिल्म ‘सुब्बा साब’देखि ‘कारखाना’, ‘लप्पन छप्पन’, ‘मनसँग मन’ हुँदै पछिल्लो फिल्म ‘परदेशी २’सम्म आइपुग्दा उनी असफल नै भइन् ।
फिल्म ‘परदेशी २’ हिट भएपनि वर्षालाई केही फाइदा भएन । उनले यो फिल्मको सफलताको पनि जस लिन पाइनन् ।
‘परदेशी २’ हिट हुँदा यस श्रेय प्रकाश सपूत र केकी अधिकारीलाई गयो। यो फिल्म चल्दा उनलाई नेपाली फिल्मका नाम चलेका मेकरले पत्याएनन् । उनको हातमा फिल्म ‘काजी’ थियो । यो ‘परदेशी २’ रिलिज अगाडि नै साइन गरेको हो । यसैले यो फिल्मको व्यापारले निर्माता मालामाल भए, वर्षालाई कुनै असर परेन ।
यो वर्ष आफ्ना लागि सुखद बन्नेमा वर्षा निकै आशावादी देखिएकी छिन् । किनकी, उनले अभिनय गरेका दुई फिल्म यो बर्ष रिलिज हुँदैछन् । सुरुवातमा साउनको १८ गतेबाट उनले अभिनय गरेको फिल्म ‘मोदीबेनी’ रिलिजमा आउँदैछ ।
यता वर्षाले फिल्म ‘मोदीबेनी’ चलाउन ठूलै मिहिनेत पर्ने देखिन्छ । फिल्मका मुख्य नायक अमरप्रताप श्रेष्ठ, निर्देशकदेखि निर्मातासम्म नयाँ छन् । टिममा धेरैको नयाँ अनुहार भएकाले फिल्मको निर्माण पक्षले पनि वर्षालाई नै प्रमोसनमा अगाडि ल्याएको छ ।
निर्माण पक्षले प्रचार-प्रसार गर्ने हेतुले गत सोमबार ‘मन्जुरी’ शीर्षकको गीत सार्वजनिक गरेको थियो । यो गीत सार्वजनिक भएको करिब एक हप्ता पुग्दा गीतमा दर्शकको खडेरी लागेको देखिन्छ । युट्युबमै चल्न सकस देखिएको गीतको भिडियोमा हालको अवस्थासम्म दुई लाख ९६ हजार पाँच सय ८२ भ्यूज पाएको छ अर्थात् तीन लाख भ्यूज कटाउन मुस्किल भइरहेको छ ।
फिल्म ‘मोदीबेनी’ चलेको खण्डमा वर्षालाई फाइदा हुनेछ । किनकी, यो फिल्म चल्दा उनको नाम सर्वाधिक अगाडि आउनेछ ।
यो फिल्म रिलिज भएको दुई महिनापछि वर्षाको मुख्य भूमिका रहेको अर्को फिल्म ‘छक्का पन्जा ५’ रिलिजमा आउँदैछ । यो फिल्मबाट भने वर्षालाई सोचे भन्दा धेरै हाइसन्चो हुने पक्कै छ ।
‘छक्का पन्जा ५’ चल्दा वर्षाको नाममा ब्लकबस्टर फिल्म पर्नेछ । तर, यो फिल्ममा उनको स्टारडमको भन्दा पनि अभिनयले आम दर्शकको मन जित्नु पर्ने हुन्छ ।
यसरी हेर्दा, वर्षाको फिल्मी करिअर सुखद मान्न सकिँदैन । यसमा किन यति ठुलो कमजोरी भइरहेको छ, वर्षाले मूल्याङ्कन गर्न आवश्यक छ ।