काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम ‘न्यूयोर्क पोस्ट’ सँगको कुराकानीमा शनिबारको आक्रमणमा ‘आफू मारिने सम्भावना’ बाट उम्केको बताएका छन् ।
रिपब्लिकन नेसनल कन्भेन्सनमा भाग लिन मिल्वौकी जाने क्रममा आफ्नो विमानमा सवार ट्रम्पले ‘न्यूयोर्क पोस्ट’ लाई दिएको अन्तर्वार्तामा आफूलाई बचाउन सुरक्षा अधिकारी र अभियानमा सहभागी शुभेच्छुकले खेलेको भूमिकाको प्रसंशा गर्दै भने, ‘सायद, म यहाँ हुने थिइन, म मरेको हुन्थेँ होला ।”
उनले आफ्नो दाहिने कानमा सेतो पट्टी बाँधेर सुनाएको यो ‘अति वास्तविक अनुभव’ भएको पत्रिकाले उल्लेख गरेको छ ।
शनिबार एक चुनावी र्यालीमा सहभागी हुने क्रममा बन्दुकधारीले प्रहार गरेको गोलीले ७८ वर्षीय ट्रम्पको कानमा लछार्दै गएको थियो । आक्रमणबाट उनको अनुहार रगताम्य भएको, एक जना पैदलयात्रीको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।
ट्रम्पले र्यालीलाई सम्बोधन गर्ने क्रममा अवैध आप्रवासीसम्बन्धी चार्ट पढ्नका लागि आफ्नो टाउको दायाँतिर नझुकेको भए आफ्नो मृत्यु हुने बताएका थिए ।
उनले भने, “घटनापछि धेरैले भनिरहेका छन् कि “भाग्यले वा भगवानको कृपाले म अझै पनि जीवित छु ।”
गोली प्रहार गर्ने आक्रमणकारीलाई तत्काल ‘सफाया’ गरेकामा उहाँले गुप्तचर सेवाका एजेन्टको प्रशंसा गरे ।
उनले भने, “उनीहरूले आक्रमणकारीलाई आँखाको बीचमा एउटा गोली प्रहार गरी आफूलाई भीडबाट बाहिर निकालिएको मलाई बताइएको छ ।”
“उनीहरूले उत्कृष्ट काम गरे,” उनले भने, “यो हामी सबैका लागि अवास्तविक छ ।”
सिक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई घेरा हालेर भीडबाट निकाल्दै गर्दा मुठ्ठी उठाएको तस्बिर संसारभरका पत्रिकाको फ्रन्ट पेजमा छापिएको थियो । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
“धेरै मानिसहरूले यो आफूले देखेको सबैभन्दा प्रतिष्ठित तस्वीर भएको बताउँछन्,” पूर्व राष्ट्रपतिले न्यूयोर्क पोस्टसँग भने, “उनीहरूले सही भनेका हुन् । आक्रमणबाट म बाँच्न सफल भएको छु । सामान्यतया पत्रपत्रिकामा यस्तो चर्चा एक जीवित व्यक्तिका लागि विरलै हुने गर्छ ।” एजेन्सीबाट