साउनमा पनि घट्याे बैंकहरूकाे ब्याजदर, कुनकाे कति ?-Sutra News

साउनमा पनि घट्याे बैंकहरूकाे ब्याजदर, कुनकाे कति ?

सोमबार, ३१ असार २०८१

सोमबार, ३१ असार २०८१

काठमाडाैं । एक वर्षदेखि घट्दो क्रममा रहेको बैंकको ब्याजदर आगामी आर्थिक वर्षको पहिलो महिनामा पनि थप घट्ने भएको छ । आगामी साउन महिनाकाे लागि अधिकांश बैंकहरूले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।



सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ बैंकले आगामी साउन एक गतेदेखि बचतको ब्याजदर थप घटाउने निर्णय गरेका छन् भने ५ वटा बैंकले भने स्थिर राखेका छन् । दुई वटा वाणिज्य बैंकको ब्याजदर थोरै बढ्ने भएको छ ।

यो सँगै असार महिनामा ब्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउन महिनामा अझ घटेर ६.७३ प्रतिशतमा सिमित हुने भएको छ । २० वाणिज्य बैंकको साउन महिनाको ब्याजदरसँग असार महिनाको ब्याजदरको तुलना गर्दा बैंकहरूको ब्याजदर ०.१४ अंकले घटेको छ ।

साउन १ गतेदेखि लागू हुने गरि कृषि विकास बैंक र एभरेस्ट बैंकले असार महिनाको तुलनामा साउन महिनामा ब्याजदर केही बढाउँदा स्ट्यान्डर्ड चार्टड, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेघा, नविल र एसबीआई बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिंदा अन्य १३ वाणिज्य बैंकले भने ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

अधिक तरलताको चपेटामा रहेका वाणिज्य बैंकले लामो अवधिको व्यक्तिगत मुद्दतीको निक्षेपमा केही उच्च र छोटो अवधीको मुद्दती निक्षेपमा केही कम ब्याजदर तोकेका छन् । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको व्याजदरमा ऋणीलाई केही राहत हुन्छ ।

वाणिज्य बैंकहरूको सार्वजनिक ब्याजदर अनुसार साउन महिनाको लागि एनएमबी र एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ७.५३ प्रतिशत व्याजदर प्रदान गर्नेछन् । मुद्दती निक्षेपको माथिल्लो सिमा र बचतको न्युनतम ब्याजदरबिचको अन्तर बढीमा पाँच प्रतिशत मात्रै हुनुपर्ने नेपाल राष्ट्र बैंकको नीति छ भने कल निक्षेपमा बचतको न्युनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा भने व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तिमा १ प्रतिशत कम हुनुपर्ने छ ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटापछी मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन । बैंकहरूलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण गर्ने आधारका रूपमा सोही वर्गका बैंकले अघिल्लो महिना कायम गरेको अधिकतम ब्याजदरको औसतमा १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर नै वाणिज्य बैंकहरूले साउन महिनाको लागि नयाँ ब्याजदर घोषणा गरेका हुन् ।

पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रीएपछी बैंकहरू बिच ब्याजदर घटाउन प्रतिस्पर्धा नै चलिरहेको छ । कांग्रेस र एमालेको सहकार्यमा स्थिर सरकार गठन भएर भोलिदेखी नयाँ आर्थिक वर्ष समेत हुन लागेका कारण आगामी आर्थिक वर्षदेखि अधिक तरलताको अवस्थामा सुधार हुँदै जाने बैंकहरूको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट