गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दा बाट सफाइ पाएका छन् ।
‘नेपाल आइडल सिजन २’का विजेता समेत रहेका गायक ओडलाई वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले चैत्र २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।
ओड सांगीतिक कार्यक्रममा देश बाहिर हुँदा तत्काल पक्राउ नपरे पनि नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगेका थिए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले नेपाल आई इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी प्रहरीले नियन्त्रणमा लिँदा उनी पाँच लाख बुझाएर धरौटीमा रिहा भएका थिए । तर उनी रिहा भए पनि उनले सफाइ भने पाएका थिएनन् ।
करिब पाँच महिना पछि उनले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे सुनुवाइ भएको थियो । सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको कञ्चनपुर जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ ।