स्थायी मन्त्री शरतसिंह : पार्टी फेर्दै, गठबन्धन बदल्दै सिंहदरबारमै डेरा-Sutra News

स्थायी मन्त्री शरतसिंह : पार्टी फेर्दै, गठबन्धन बदल्दै सिंहदरबारमै डेरा

पछिल्लाे नियुक्तिले लोसपामा बबन्डर, विभाजनको तयारीमा नेताहरू

सोमबार, ३१ असार २०८१

सोमबार, ३१ असार २०८१

काठमाडाैं । चार महिनापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे नेतृत्वमा फेरि लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का नेता शरतसिंह भण्डारी आइपुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा भण्डारीले श्रम मन्त्रालयकाे जिम्मेवारी पाएका हुन् ।



उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्रीकाे जिम्मेवारीमा थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका भण्डारी १३औँ पटक मन्त्री बनिसकेका छन् ।

पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उनले भने ।

पञ्चायतकालदेखि नै मन्त्री

भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक थिए ।

भण्डारी विसं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनकाे संसदीय यात्रा सुरु भएको थियो ।

विसं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बनेका थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा समेत रहे ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए ।

उनी विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका थिए । त्यसयता उनी पटक-पटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका छन् ।

नेवि संघको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेका थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरे ।

उनले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । सोही वर्ष उनी संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

यसपटक भने उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन्  ।

सिंहकाे नियुक्तिसँगै लाेसपाभित्र बबण्डर

भण्डारीलाई मन्त्री बनेकै विषयले लाेसपाभित्र ठूलाे असन्तुष्टि चर्किएको छ । असन्तुष्ट पक्षले पार्टी विभाजनकै तयारी गरिरहेकाे छ ।

लोसपाका महासचिव मुकेश झाका अनुसार पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको बताएका छन् । उनका अनुसार मधेस प्रदेशमा रहेका नौ जना सांसदमध्ये चार जना र लुम्बिनी प्रदेशका ३ जनाले शुक्लालाई साथ दिने महासचिव झाले बताए ।

लोसपाको पदाधिकारीमध्ये २७ जना आफूहरूको साथमा रहेको उनको दाबी छ ।

लोसपाका नेता तथा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले यसअघि नै भण्डारीलाई मन्त्री बनाउने विषयमा अनस्तुष्टि जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट